समाज

धान पसाउने बेला पानी नपरेपछि कृषक चिन्तित

धान पसाउने महत्त्वपूर्ण समयमा पानी नपरेपछि कपिलवस्तुका कृषकहरू चिन्तित भएका छन्। समयमा नै रोपाइँ सकेका कृषकहरूले यस वर्ष राम्रो उत्पादन हुने आशामा थिए। तर दुई साताभन्दा बढी समयदेखि पानी नपरेपछि उनीहरूको आशा निराशामा बदलिएको छ। 

बिहानै देखिको चर्को घाम लागेकोले त्यसको असर धान खेतीमा पनि परेको कृषि प्राविधिक बताउँछन्। असारमा पर्याप्त मनसुनले रोपाइँ सहज भए पनि अहिले आवश्यक समयमा वर्षा नहुँदा कृषकहरू उत्पादन घट्ने डरले पिरोलिएका छन्।

विशेष गरी, छिटो पक्ने हाईब्रिड धानका लागि अहिले पानी अति आवश्यक रहेको कृषि प्राविधिकहरूको भनाइ छ। केही क्षेत्रमा मोटा धान पाक्ने क्रममा छ भने कतै पासो लाग्न बाँकी छ। अन्य प्रजातिका धान राम्रोसँग हुर्किएका भए पनि अबको केही दिनभित्र पानी नपरे कृषकहरूको लगानी जोखिममा पर्ने प्राविधिकहरूले बताएका छन्।

कपिलवस्तु नगरपालिका–३, बरन्डीहवाका कृषक घाउराका यादवले खेतमा पसाउन लागेका धान तर्फ ईशारा गर्दै भने, "पानी नपरे धान चौपट हुने सम्भावना छ, लगानी नै खेर जाने खतरा छ।"

रोपाइँको बेला कुनै अभाव नभए पनि अहिले पानीको अभावले कृषकहरू ठूलो समस्यामा परेका छन्। कृषि ज्ञान केन्द्रका अधिकृत महेन्द्र ओझाका अनुसार धान राम्रोसँग बढे पनि पसाउने बेला पानी नपर्दा उत्पादन घट्न सक्ने जोखिम बढेको छ।

यस वर्ष समयमै बिउ राखेर रोपाइँ गरिएकाले ५ देखि १० प्रतिशतसम्म उत्पादन बढ्ने अनुमान गरिएको थियो।

कृषकहरूले अहिले पम्पसेटमार्फत धान खेतमा सिँचाइको प्रयास गरिरहेका छन्। तर पम्पसेटको सिँचाइले वर्षाको जस्तो प्रभाव नहुने कृषि प्राविधिकहरू बताउँछन्।

यस वर्ष कपिलवस्तुमा ६९ हजार ४७५ हेक्टरमा धान खेती गरिएको थियो। जहाँ प्रति हेक्टर ४.६ मेट्रिक टन उत्पादनको अनुमान गरिएको थियो। जिल्लामा राधा चार, सावाँ मन्सुली, मनिषा, गोल्डेन मन्सुली, लोकनाथ, गोरखनाथ, र सावित्री जातका धान रोपिएका छन्।

८३ हजार हेक्टर खेती योग्य जमिन रहेको जिल्लामा बाहैमासे र मौसमी गरी करिब ३० प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा छ। 

प्रकाशित: ७ आश्विन २०८१ १८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App