समाज

दसैं मनाउन घर फर्कन थाले परदेशी

रोजगारीका लागि भारत गएका दसैंतिहार मनाउन घर फर्किँदै परदेशी । तस्विरः नागरिक

नेपालीको महान् पर्व दसैं नजिकिँदै गर्दा रोजगारीका लागि भारतीय सहर गएका परदेशीहरु घर फर्किन थालेका छन् । उनीहरु धान, मकै लगाएर भारत जाने र दसैंतिहारमा घर फर्किने गर्छन् ।

पश्चिम नेपालको प्रमुख नाका जमुनाहमा यतिबेला परदेशीको लर्काे देखिन्छ  । रोल्पाका ३८ वर्षीय कृष्णबहादुर बुढा आइतबार साँझपख परिवारसहित नेपाल–भारत सीमा क्षेत्र जमुनाह हुँदै नेपाल भित्रिए । करिब आठ महिना अगाडि बालबच्चा र श्रीमतीसहित उनी रोजगारीका लागि भारत गएका थिए । नेपालीको सबैभन्दा ठूलो पर्व दसैं नजिकिँदै लाग्दा उनी परिवारसहित घर फर्किएका हुन । उनको मुहारमा दसैंको उमंग दुरुस्तै देखिन्थ्यो । उनीजस्तै दैलेखका दिनेश अधिकारी पनि दसैं मनाउन घर फर्किएका छन् । घरपरिवारलाई लत्ताकपडा र केही पैसा ल्याएर उनी खुसीसाथ घर फर्किए ।

दसैं नजिकिँदै गर्दा नेपाल–भारत सीमा क्षेत्र जमुनाहबाट दसैं मनाउन घर फर्किने परदेशीको ताती छ । दसैंको उमंग बोकेर रोजीरोटीका लागि भारतीय विभिन्न सहर पुगेका परदेशी धमाधम घर फर्किएका छन् । ‘दसैं मनाउन घर फर्किएको छुँ,’ रुकुम पश्चिमका कविराम सार्कीले भने, ‘दसैंतिहार मनाएर फेरि भारतमै फर्किन्छुँ ।’ उनी भारतको हिमाचल प्रदेशको मनिकरणमा स्याउ टिप्ने काम गर्छन । जहाँ उनले मासिक ४० देखि ५० हजार रुपैयाँसम्म कमाइ गर्छन । ‘घरमा काम नपाएपछि घर परिवार छाडेर बाध्यताले मनिकरण गएको हुँ,’ उनले भने । उनीजस्तै दसैंको खुसीयाली ल्याएर सल्यानका उत्तर खड्का पनि घर फर्किएका छन् । ‘परदेशमा एक्लै दसैंतिहार जस्ता ठूला पर्व मनाउन मनले मान्दैन । घर परिवारले पनि न्यास्रो मान्छन्,’ उनले भने, ‘केही पैसा कमाएर दसैंतिहार मनाउन घर फर्किन्छुँ ।’ तीन वर्षदेखि उनी रोजगारीका लागि भारत जान थालेका हुन् । तीन वर्षभन्दा पहिलेको एउटा दसैं खल्लो भएको ताजा अनुभव पनि छ उनीसँग । जुन उनले नागरिकलाई जस्ताको त्यस्तै पीडा सुनाए । ‘चार वर्ष अघि घरमै थिएँ । रोजगारी थिएन । कमाइ पनि भएन । दसैंतिहार जस्ता पर्व खल्लो भयो,’ उनी भन्छन्, ‘त्यतिबेला मैले आफ्ना बच्चाबच्चीका लागि नयाँ कपडासमेत किन्न सकेन । मुस्किलले मासुलगायतका खानेकुराको जोहो गरेँ ।’

त्यतिबेलादेखि उनी रोजगारीका लागि भारतीय श्रम बजार छिर्न थालेका हुन् । यतिबेला उनले नेपालगन्जबाट छोराछोरी, श्रीमती, आमाबुवालाई नयाँ लत्ताकपडा किन्ने योजना बनाएका छन् । दसैंतिहारमा हुने रमाइलोका लागि खर्चपानी पनि कमाएर उनी दसैंतिहार मनाउन घर फर्किएका छन् । पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट रोजगारीका लागि भारत जानेको संख्या ठूलो छ । यहाँबाट कति नेपाली भारतमा रोजगारीका लागि जान्छन् भन्ने एकीन तथ्यांक छैन । तर, पश्चिम पहाडी जिल्लाका ग्रामीण बस्तीबाट अधिकांश मानिस कमाइका लागि भारत गएका छन् । दसैंतिहार जस्ता पर्व मनाउन यतिबेला उनीहरु घर फर्किँदा सीमा क्षेत्र जमुनाहमा घुइँचोनै लाग्छ । दसैंतिहार मनाउन आएका परदेशीका कारण गाउँघरमा दसैंको रौनक छाएको छ ।

यतिबेला फर्किएका उनीहरु केही दसैं मानेर फकिन्छन् भने तिहारसम्मै बस्छन् । थोरै मात्र तिहार पछाडि खेतीपाती लगाएर पुनः रोजगारीका लागि भारत जाने चलन छ । जमुनाह नाकाबाट दैनिक एक हजारभन्दा बढी परदेशी घर फर्किने गरेको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले जानकारी दिए । ‘यतिबेला परदेशी घर फर्किने क्रम सुरु भएको छ,’ उनले भने, ‘दसैं अझै नजिकिँदै गर्दा यो संख्या ह्वात्तै बढ्छ ।’ भारतबाट दसैंका लागि ल्याएका सामान चेकजाँचमा सहजता ल्याइएको उनको भनाइ छ ।

‘उनीहरुले दसैंका लागि ल्याउने सामान हेरेर सहज गरिएको छ,’ उनले भने, ‘भारतबाट उनीहरुले परिवारका लागि लत्ताकपडा बढी ल्याउने गर्छन ।’ साथै सीमा क्षेत्रमा भीडभाड बढेपछि सुरक्षा सतर्कतासमेत बढाइएको उनी बताउँछन् । रोजीरोटीका लागि लाहुरे बन्ने परम्परा सुरू भएदेखि घर फर्किने पर्वका रूपमा पनि स्थापित पर्व हो, दसैं । अरूबेला नभए पनि चाडबाडको समयमा बिदा पाउने भएकाले दसैं घर फर्किने सांस्कृतिक विम्बका रूपमा स्थापित छ । दसैं नजिकिँदै जाँदा पिँढीमा बसेका बुढा आँखा तेजिला बन्दै परदेशी बाटो छोरो फर्किएको हेर्न पर्खिरहन्छन् । मुगलानबाट लाहुरे दसैंमै घर फर्किन्छ । सुनसान गाउँ गुलजार बन्छ । निरस अनुहार उज्यालिन्छ । दसैंमा घर फर्किएको परदेशी र गाउँले साथीबीच दुःख साटासाट हुन्छ ।

प्रकाशित: ७ आश्विन २०८१ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App