समाज

सवारी दुर्घटनामा ज्यान गुमाउँदै सर्वसाधारण, जरिवाना असुल्दै ट्राफिक

रौतहटमा सवारी दुर्घटनामा एकै दिन दुई युवकले ज्यान गुमाएका छन् । रौतहटको गरुडा र कटहरिया नगरपालिकामा दुर्घटनामा दुई युवकको ज्यान गएको हो ।

गौर चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत गरुडा नगरपालिका ४ गरुडाको मुख्य बजारमा ई–रिक्साले ठक्कर दिँदा गढीमाई नगरपालिका  १ समनपुर घर भई गरुडामै बस्दै आएका ३५ वर्षीय राम साह रौनियारको मृत्यु भएको छ । तीव्र गतिमा रहेको मधेश प्रदेश ०३–००१ ह ३४१४ नम्बरको अटो–इरिक्साले पैदल यात्रु रौनियारलाई पछाडिबाट ठक्कर दिएको थियो । प्रहरीको मिलोमतोमा सडक पेटी तथा फुटपाथ पसलेहरुको कब्जामा रहेकाले बाध्य भई सडकबाटै हिँडिरहेका रौनियारलाई ई–रिक्साले ठक्कर दिँदा टाउकोमा गहिरो चोट लागेको थियो । रौनियारलाई गरुडामै प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाउँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिएकी छन् ।

ठक्कर दिने ई–रिक्सासहित चालक गरुडा नगरपालिका ५ लक्ष्मीपुरका गणेश साहलाई प्रहरीले पक्राउ गरिसकेको छ । चालकले अत्यधिक मदिरा सेवन गरी तिव्र गतिमा गाडी गुडाएको कारण अनियन्त्रित भई सडकको छेउमा पैदल हिडिरहेका रौनियारलाई ठक्कर दिएको बताइएको छ । रौनियार माधवनारायण नगरपालिका ४ विशुनपूर्वा मानपुर माध्यमिक विद्यालयका शिक्षक हुन् ।  

यसबीच कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडकखण्डमा आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कटहरिया नगरपालिका ९ डुमरियाका २६ वर्षीय रामजनम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । मधेश प्रदेश ०३–०२८ प ४९४१ नम्बरको मोटरसाइकल तीव्र गतिमा रहेको कारण दुर्घटना भई गम्भीर घाइते भएका पासवानको कटहरिया प्राथमिक उपचार गरी प्रादेशिक अस्पताल गौर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत भदौ महिनामा जिल्ला ट्राफिक कार्यालय रौतहटले ९१२ सबारीमाथि कारबाही गर्दै ८ लाख ४३ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । ट्राफिकले रौतहटमा गत महिना ४५ सबारी दुर्घटना भई ७५ जना घाइते भएको जनाएको छ ।

मोटरसाइकल चालकलाई जहाँतहीँ रोकेर ब्लुबुक, लाइसेन्स र हेलमेट चेकमा निकै कडाइ गरेको रौतहट ट्राफिक प्रहरीले एउटा ई–रिक्सामा १० जनासम्म बसेर यात्रा गरे पनि देख्दैन । ई–रिक्सामा चालकसित अगाडि दुई जना, बिचको सिटमा चार जना र पछाडिको सिटमा दुवैतिर दुई दुई जना गरी चार जना गरेर जम्मा  १० जनालाई ट्राफिक प्रहरीकै अगाडिबाट ओहोरदोहोर गरेको देख्न सकिन्छ ।

ई–रिक्सालाई ट्राफिक प्रहरीले सबै कानुनभन्दा माथि राखेको तथा नेपाल प्रहरीले सडक अतिक्रमण र फुटपाथ अतिक्रमणलाई हटाउन नसकेको कारण रौतहटमा सडक दुर्घटना ज्यादै बढेको छ । सर्वसाधारणलाई सडकमा हिँड्नको लागि कुनै ठाउँ नै बाँकी नरहेको कारण दुर्घटना हुने गरेको छ ।

रौतहटको गरुडा, गौर तथा चन्द्रपुर बजारको सडक पेटी र फुटपाथमा खुदरा व्यापारी, ठेला तथा खाट राखेर सयौँले बेपार गरिरहेका छन् । सडक पेटी र फुटपाथ सर्वसाधारणको लागि सुरक्षित रहेको भए शिक्षक राम साह रौनियारले अनाहकमा दुर्घटनामा ज्यान गुमाउनु पर्ने थिएन – स्थानीयवासी आक्रोश व्यक्त गर्दछन् । 

प्रकाशित: ४ आश्विन २०८१ १९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App