समाज

वैदेशिक रोजगारीमा जान खोज्दा ठगिए इलामका युवा

‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै मोटो रकम अर्कालाई बुझाएका इलामका युवा ठगिएका छन्। कतार पठाइदिने सर्तमा रकम बुझाएका इलाम नगरपालिका–४ का युवा ठगिएका हुन्।

वैदेशिक रोजगारीमा जान भन्दै यहाँका मोहनप्रसाद घिमिरे, रामबहादुर खड्का र प्रदीप खड्का काठमाडौं पुगे। मोहन र रामबहादुर काठमाडौंमा १६ दिन भिसा पर्खिंदा पनि केही नलागेपछि घर फर्किएका छन्। उनीहरूलाई कतारको दोहास्थित चनैया ८ बसेको बताउने गणेश कार्कीले मोटो रकम लिएर झुक्याएका हुन्। गाउँघरकै एक साथीमार्फत् गणेशको परिचय पाएका घिमिरे र खड्काले कतार जाने आसमा कार्कीलाई एक लाख ६० हजार, राम र प्रदीप (दाजुभाइ)ले एक लाख ८० हजार रुपैयाँ बुझाए।

रकम बुझेपछि गत साउन ३ मा गणेशले घिमिरे र खड्कालाई ‘विदेश जाने टिकट काट्न आउनू’ भनी काठमाडौं बोलाए। ‘भिसा आएको छ, तीन दिनका लागि खानेबस्ने पैसा लिएर काठमाडौं आउनू भनेर बोलाएपछि हामी घरबाट बिदावारी भएर काठमाडौं गयौं,’ घिमिरेले भने, ‘तीन दिन, सात दिन, १० दिन हुँदै १६ दिन बस्दा पनि भिसा अत्तोपत्तो नभएपछि भएरभरको खर्च सकियो, ऋणसमेत लाग्यो अनि घर फर्कियौं।’ यसअघि नै प्रदीपलाई पनि विदेश लैजान्छु भनी काठमाडौं बोलाएर घर फर्काइएको थियो।

दोहामै रहेका गणेशलाई पटक–पटक सम्पर्क गर्दा ‘भिसा आइहाल्छ’ भन्न नछाडेको तर अहिले असोज लाग्दासम्म नआएपछि आफूहरू ठगिएको थाहा पाएको खड्काले बताए। ‘हामीले भिसा नआउने बुझेपछि गणेशसँग पैसा फिर्ता माग्यौं तर अहिले त तिमीहरूले मेरो नाममा पैसा पठाएका छौं र मसँग मागेको ? भन्दै उल्टै गाली पो गर्छन्,’ खड्काले सुनाए, ‘हामीसँग गणेशकी पत्नी र उनले भनेका व्यक्तिको नाममा पैसा पठाएको भौचर छ, गणेशसँग बोलेको आवाजसमेत रेकर्ड छ।’

इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) र विभिन्न बैंकमार्फत् पैसा पठाएका उनीहरूसँग भौचर सुरक्षित छ। ‘एक लाख रुपैयाँ गणेशकी पत्नी भुना खड्काको नाममा जम्मा गर्न लगाइएको थियो भने ६० हजार चाहिँ सुमनकुमार केसीको नाममा,’ पीडित घिमिरेले भने, ‘हामीले थाहा पाएअनुसार गणेशको घर झापाको चारआली हो। उनकी पत्नी (भुना) चाहिँ घरमै छिन्।’ यसबाहेक पनि युवाले विदेश जाने आसमा गणेशले भनेअनुसारका व्यक्तिहरूका नाममा पटक–पटक हजारौं रुपैयाँ पठाएको भौचर रहेको जनाएका छन्।

गणेशले घिमिरे र खड्कालाई दोहामै रहेको राप्ती ग्लोबल रेस्टुरेन्टमा काम लगाइदिने बाचा गरेका थिए। ‘हामी काठमाडौं गएका बेला पाँचथर रानीटारका सुरेन्द्र राई र इलाम एकतप्पाका सुमन श्रेष्ठसमेत गणेशसँगै सम्पर्क भएर विदेश जान त्यहाँ पुगेका रहेछन्,’ घिमिरेले भने, ‘उनीहरू र अरू युवाबाट पनि गणेशले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ६० हजार, ९० हजार, लाख रुपैयाँ लिएर धोका दिएको थाहा भयो। तर, विदेश पठाउन सकेनन्।’

आफूहरूले चारआलीस्थित घरमै गएर पैसा लिने दबाब दिएपछि गणेशले त्यसो नगरिदिन अनुनय गरेको घिमिरेले बताए। ‘हामीलाई धेरै झुलाइएको छ, प्रदीप खड्कासँग केही महिनाअघि यसैगरी रकम लिएर काठमाडौं बोलाइयो तर न भिसा आयो, न पैसा नै फिर्ता,’ घिमिरेले सुनाए, ‘पैसा फिर्ताका लागि अब कानुनी प्रक्रियामा जानेछौं।’

दोहामै रहेका गणेशले इलामका युवालाई आफूले कि विदेश पठाइदिने, कि पैसा फिर्ता गरिदिने जबाफ दिए। ‘भन्नेबित्तिकै नभएको मात्रै हो, मैले फेरि काठमाडौं आएर विदेश आउनू भनेको हो, उहाँहरूले नै मान्नुभएन,’ गणेशले नागरिकन्युजसँग भने, ‘उहाँहरू नआउने हो भने पैसा त फिर्ता गरिदिन्छु तर केही समय लाग्छ।’

गणेशले आफूले भनेअनुसारका व्यक्तिका नाममा आएको रकमको जिम्मा आफूले लिने भन्दै धेरै पैसा फिर्ता गरिदिनुपर्ने भएकाले एकैपटक नसकेको बताए। ‘अहिले फेसबुकतिर, समाचारतिर नलेखिदिनुहोला, म पैसा फिर्ता गर्छु, गुनासो गर्नेहरू धेरै मेरा आफन्त पनि हुनुहुन्छ, म पनि परिवार भएको व्यक्ति हुँ,’ उनले जबाफ दिए, ‘मैले आफ्नो नाममा नभएपनि मैले भनेका व्यक्तिका नाममा आएको पैसा म फिर्ता गर्छु।’ 

प्रकाशित: ४ आश्विन २०८१ ०८:५३ शुक्रबार