समाज

पहिरोसहितको ढुङ्गाले लागेर घाइते महिलाको मृत्यु

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ लिङखिमस्थित फेसेवा जंगल नजिकै पिकअप भ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुङ्गाले लाग्दा एक महिलाको ज्यान गएको छ।

माथिबाट खसेको ढुङ्गाले मे १ ज १३६२ नम्बरको पिकअप भ्यानमा ठोक्किएर यात्रा गरिरहेकी लिङखिम तावाकी २६ वर्षीया निर्मला गुरुङलाई गम्भीर घाइते बनाएको थियो।

घाइते गुरुङलाई तत्कालै गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याए पनि लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विवेक बस्नेतले जानकारी दिए।

प्रहरी निरीक्षक बस्नेतका अनुसार पिकअप भ्यान, माथिबाट खसेको पहिरो र ढुङ्गाको चपेटामा परेको थियो। साही क्रममा ढुङ्गा गुरुङलाई लाग्दा उनको टाउकोमा गम्भीर चोट पुगेको थियो।

फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लावुङका अनुसार पहिरोले एक ट्याक्सीमा समेत क्षति पुर्‍याएको छ।

प्रकाशित: २९ भाद्र २०८१ २०:१४ शनिबार