समाज

पर्यटन प्रवर्द्धन गर्न प्याराग्लाइडिङ महोत्सव

गुठिचौरमा प्याराग्लाइडिङको तस्बिर गोल्डेन बुढा जुम्ला/ नागरिक।

जुम्लाको गुठिचौर गाउँपालिकाले प्याराग्लाइडिङ महोत्सव गर्ने भएको छ। यही भदौ २५ देखि ३० गतेसम्म गुठिचौर पाटनमा प्याराग्लाइडिङ महोत्सव गर्न लागेको हो।

पर्यटन गतिविधि बढाउँदै स्थानीयको आयस्रोत बढाउने उद्देश्य रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज गिरीले बताए। उनले भने, ‘पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न सहयोग मिल्नेछ।’

जुम्लादेखि डोल्पा जोड्ने सडकछेउमै रहेको गुठिचौर पाटनमा प्याराग्लाइडिङ महोत्सव गरेर साहसिक पर्यटनको सम्भावना भएको क्षेत्रका रूपमा सन्देश फैलाउने प्रयास रहेको अध्यक्ष दानबहादुर बुढाले बताए। ‘जुम्लादेखि डोल्पाको से-फोक्सुण्डो जाने आन्तरिक तथा बाहृय पर्यटकहरू गुठिचौर पाटन हुँदै जाने भएकाले पनि प्याराग्लाइडिङ उडान उपयुक्त हुने देखिएको छ।’

प्याराग्लाइडिङ उडानका लागि चालक र प्याराग्लाइड पोखरादेखि आउनेछन्। आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने, पर्यटकीय क्षेत्रका रूपमा गुठिचौरलाई दर्ज गर्न महोत्सव आयोजना गर्न लागिएको हो।

यसअघि नौ वटा प्याराग्लाइडिङ उडाएर परीक्षण गरिसकिएको छ। चालकहरूका अनुसार गुठिचौर प्याराग्लाइडिङ उडानका लागि उपयुक्त क्षेत्र मानिएको छ।

महोत्सवले गुठिचौरमा व्यवसायिक रूपमा प्याराग्लाइडिङ उडानका लागि लगानीकर्ताहरूको ध्यान खिच्ने अपेक्षा गरिएको सूचना अधिकारी प्रेमबहादुर शाहीले भने, ‘लगानीकर्ताहरू भेटिए भने निरन्तर व्यवसायिक उडानको सुरुवातको प्रयास हुनेछ।’

आगामी वर्षदेखि प्याराग्लाइडिङ चालक उत्पादन गर्ने र गाउँपालिकाको आफ्नै प्याराग्लाइडिङ खरिद गर्नेबारे समेत छलफल भइरहेको उनले बताए। महोत्सव अवधिमा प्याराग्लाइडिङ चढ्न चाहनेहरूले गाउँपालिकाले तयार पारेको टिकट बुकिङ गर्नुपर्ने छ।

गाउँपालिका भित्रलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ र बाहिरका आगन्तुकहरूलाई चार हजार रुपैयाँको टिकट दर निर्धारण गरिएको छ। २ सय जनाले बुकिङ गरेको खण्डमा १० प्याराग्लाइडिङ बोलाउने तयारी भइरहेको सूचना अधिकारी शाहीले बताए।

गुठिचौरको डाब र लाग्न डाँडादेखि प्याराग्लाइडिङ उडाउने रुट निश्चित गरिएको छ। प्याराग्लाइडिङ उडानका लागि नागरिक उड्ययन मन्त्रालयमा अनुमतिका लागि पत्र पठाइसकिएको छ। हवाइ रुट नपर्ने भएकाले प्याराग्लाइडिङका लागि उपयुक्त क्षेत्र देखिएको गाउँपालिकाको दाबी छ।

पर्यटकीय सम्भावना भएकाले यसलाई नियमित गर्न आवश्यक छ। प्याराग्लाइडिङ उडानका लागि चालक उत्पादन गर्नुपर्ने स्थानीयहरू बताउँछन्।

स्थानीय गाउँपालिकाले नियमित प्याराग्लाइडिङ उडान गर्न उत्साहित युवालाई यससम्बन्धी विशेष तालिमको व्यवस्था गर्नुपर्ने तर्क पनि रहेको छ। गुठिचौरमा आन्तरिक तथा बाह्य पर्यटक धेरै आउने गरेकाले यो सञ्चालन गरी आम्दानीको स्रोत बलियो हुने देखिन्छ। पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना बनाई कार्यान्वयन गर्नेछ।

सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्ड लगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई सचेतनाका कार्यक्रम सञ्चालन गरिने गुठीचौर गाउँपालिकाले जनाएको छ।

गुठिचौर जुम्लाको हजारौ विघा जमिन भएको स्थान कचौरा आकारको छ। वरपर डाँडा र बिचमा बृहत चौर भएको त्यस क्षेत्रमा लामो समयदेखि गुठिचौर भेडा फारम सञ्चालन भइरहेको छ।

कृषि क्षेत्रमा अनुसन्धान गरिरहेको मारी नामको अनुसन्धान केन्द्र यही छ। जुम्लादेखि डोल्पा जाने सड्कमा यो क्षेत्रमा मानिसहरू अहिले पनि रमाउन त्यहाँ पुगिरहेका हुन्छन्। यहाँ साहसिक प्याराग्लाइडिङ गर्ने हो भने पर्यटकहरू बढ्ने सम्भावना देखिन्छ। तर यसको आधार तयार गर्न स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँगै समन्वय आवश्यक छ।

महोत्सव सफल बनाउन सुरक्षा निकाय, राजनीतिक संयन्त्रदेखि सबैसँग छलफल चलिरहेको गाउँपालिका अध्यक्ष बुढाले बताए। यस्तै महोत्सव अवधिभर पुरुष खुला भलिबल प्रतियोगिता हुनेछ।

खुला महिला देउडा गीत प्रतियोगिताको आयोजना हुने गाउँपालिकाले जनाएको छ। ‘पुरुष खुला भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः पचास हजार, तीस हजार र बीस हजार रुपैयाँ प्रदान गरिनेछ। यस्तै खुला महिला देउडा गीत प्रतियोगिताको प्रथम,द्वितीय र तृतीय हुने तिमलाई क्रमशः बीस हजार, पन्ध्र हजार र दस हजार रुपैयाँ दिइनेछ। ’

प्रकाशित: १८ भाद्र २०८१ ०८:१३ मंगलबार

#Tourism promotion #Paragliding Festival