समाज

कोरियामा मृत्यु भएकी सोनुको परिवारलाई आर्थिक सहयोग

सोनु श्रेष्ठका परिवारलाई सहयोग रकम हस्तान्तरण गरिँदै।

दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका– १, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको परिवारलाई कोरियामा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन्। विद्यार्थी भिसामा त्यहाँ पुगेकी सोनुको परिवारलाई ६ लाख २१ हजार रुपैयाँ सहयोग गरिएको हो।

कोरियामा अध्ययनरत नेपाली विद्यार्थी समाज (सोनसिक), त्यहाँस्थित इलामेली समाज र त्यहाँका गैरआवासीय नेपाली (एनआरएनए) ले यो सहयोग गरेका हुन्। सहयोग रकम सोनुको परिवारलाई घरमै पुुगेर हस्तान्तरण गरिएको छ।

यी संस्थाले नै सोनुको शव नेपाल ल्याउन करिब ६ लाख रुपैयाँ खर्च गरेका थिए। उनको शव नेपाल पठाउने उठेको रकमबाट उब्रिएको रकम सोनुको परिवारलाई सहयोग गरिएको हो।

भदौ २ गते निधन भएकी सोनुको शव ९ गते घर ल्याएर दाहसंस्कार गरिएको थियो। गत फेब्रुअरीमा कोरिया पुगेकी श्रेष्ठ उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्। सोनुका बुबा लीलाकुमार श्रेष्ठको पनि वैदेशिक रोजगारी सिलसिलामा गत जेठमा मलेसियामा मृत्यु भएको थियो।

प्रकाशित: १५ भाद्र २०८१ १७:२६ शनिबार

#Sonu Shrestha #Economic Cooperation