समाज

पहिरोमा परी सात जनाको मृत्यु

बझाङको बुब्गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा घरमाथिबाट आएको पहिरो ।तस्विरः सौजन्य नेपाल प्रहरी

आइतबार रातिको वर्षाका कारण पहिरो जाँदा पश्चिम नेपालका बझाङ र जाजरकोटमा सात जनाको मृत्यु भएको छ । भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका जाजरकोटको नलगाड नगरपालिका–२ माझ गाउँका तीन जना र बझाङको बुङ्गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा घरमाथिबाट पहिरो खस्दा चार जनाको मृत्यु भएको हो ।

माझ गाउँका ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । भूकम्पले घरमा क्षति भएपछि उनीहरु अस्थायी टहरामा बस्दै आएका थिए ।

सोही टहरा पनि आइतबार बिहान आएको पहिरोले बगाएर उनीहरूको मृत्यु भएको नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए ।

यता बझाङको  बुङ्गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा घरमाथिबाट बिरा धामीको घरमाथि पहिरो खस्दा उनकी श्रीमती ५५ वर्षीया काली धामी, २५ वर्षीया जेठी बुहारी गोल्की धामी, ६ वर्षीया नातिनी आकृति धामी र तीन वर्षीया नातिनी लक्ष्मी धामी गरी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिरा धामी , उज्ज्वल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ६ जनाको तत्काल जीवितै उद्धार गरिएको छ । उनको घरमा आइतबार मध्य राति १ बजेतिर पहिरो आएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ । उक्त पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख दिने घोषणा गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूका परिवारलाई राहत स्वरूप सो रकम प्रदान गर्ने घोषणा प्रेस विज्ञप्तिमार्फत गरेका छन् । जाजरकोटका मृतकका परिवारलाई राहत दिने विषयमा कर्णालीका मुख्यमन्त्री यमलाल कँडेलसँग छलफल गर्ने यहाँका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए । यस घटनाले दुखी तुल्याएको भन्दै मृतकका परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउन पहल गर्ने उनको भनाइ छ ।

यता लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रवक्ता माधव श्रेष्ठका अनुसार लुम्बिनीमा भने पहिरोबाट मानवीय क्षति भएको छैन । खोला नालाहरूमा जल सतह बढेकाले सतर्कता अपनाउन उनले अनुरोध गरेका छन् ।पश्चिमका केही सडकहरूमा पहिरो खस्दा अवरुद्ध भएका छन् भने राजमार्गहरूमा असहजता उत्पन्न भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी जेठ २८ गतेयता पश्चिममा ६४ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयहरूका अनुसार लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा एक सय नौ जना घाइते भएका छन् । बाढी पहिरोमा परि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक गरी तीन जना बेपत्ता भएका छन् ।

प्रकाशित: ३ भाद्र २०८१ १८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App