समाज

पोखरा स्कुल बस दुर्घटना: ब्रेक फेल भएको निष्कर्ष, बसको गति कम गर्न सुझाव

पोखरामा केही दिन अघि भएको स्कुल बस दुर्घटना ब्रेक फेल भएका कारण भएको निष्कर्ष निकालिएको छ।

पोखरा महानगरपालिकाले गठन गरेको स्कुल बस दुर्घटना अध्ययन समितिले पोखरा–१७ विरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग.१क.६२१९ नम्बरको बस ब्रेक फेल भएका कारण दुर्घटनामा परेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो।

यही साउन १४ गते पोखरा–२१ रामदीबाट विरौटातर्फ आउने क्रममा बिहान ८ः५० बजे डुङ्खु मोडमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। सो दुर्घटनामा एकै परिवारका आमा छोरासहित दुई जनाको मृत्यु भएको थियो भने अन्य २८ जना घाइते भएका थिए।

दुर्घटना लगत्तै महानगरले शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा बनाएको अध्ययन समितिले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई प्रतिवेदन बुझाइसकेको छ। सो प्रतिवेदनमा दुर्घटनाको कारणसहित आगामी दिनमा दुर्घटना हुन नदिनका लागि विद्यालयलाई सचेतता अपनाउन सुझाव दिइएको मेयर आचार्यको सचिवालयले जनाएको छ।

प्रतिवेदनमा बस दुर्घटना हुँदा बखत विद्यालयमा अध्ययनरत विद्यार्थी बाहेक एक अभिभावक, एक कर्मचारी र ५ जना अर्कै विद्यालय छोरेपाटन माविमा अध्ययनरत विद्यार्थीसमेत रहेको उल्लेख छ। सोही अवस्थालाई मध्यनजर गर्दै अध्ययन समितिले पोखराका सम्पूर्ण विद्यालयहरुमासमेत लागू हुने गरी केही महत्त्वपूर्ण सुझावहरू दिएको छ। जसमा आफ्नो विद्यालयका विद्यार्थीबाहेक अर्को विद्यालयका विद्यार्थी, अभिभावक वा अन्य कसैलाइ पनि स्कुल बसमा नराख्न भनिएको छ।

अध्ययन समितिले बसको गति कम गर्नपनि सुझाव दिएको छ। प्रतिवेदनमा भनिएको छ,'कच्ची बाटो, धुलो सडक, घुम्ती मोड तथा ओरालो बाटोमा बस अत्यन्त कम गतिमा सञ्चालन गर्ने।’ अध्ययन समितिले विद्यालयलाई आवश्यकताका आधारमा मात्र स्कुल बस सञ्चालन गर्न तथा पोखरा महानगरपालिकाले निर्देशन गरे बमोजिम विद्यालय सञ्चालन हुनु भन्दा १ घण्टा ३० मिनेट अगाडि मात्र बस सञ्चालन सुरु गर्न, ट्राफिक नियम तथा सडक सुरक्षा प्रति सजग, सचेत भई सवारी साधन सञ्चालन गर्न, विद्यालय बस चलाईरहेको समयमा चालकले मोबाइल फोनमा कुरा गर्न नहुने र विद्यार्थी चढ्दा र झर्दाको समयमा अत्यन्त सावधानी अपनाउन भनिएको छ।

अध्ययन समितिले सवारी साधनको ब्रेक, स्टेरिङ, टायर पूर्ण रुपमा समय समयमा मर्मत सम्भार गर्ने तथा बस मर्मतमा गुणस्तरीय पाटपूर्जाको मात्र प्रयोग गर्ने साथै पार्किङ ब्रेकलाई चुस्तदुरूत राख्न सुझाव दिएको छ। साथै प्रतिवेदनमा प्राविधिक विषयको गुणस्तरमा सुधारसँगै ट्राफिक नियमको पालनाका लागि सचेतना पनि जगाउनुपर्ने आवश्यकता औँल्याइएको छ। समितिले सवारी चालक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यालयका कर्मचारीलाई ६/६ महिनामा ट्राफिक सचेतनाका लागि तालिम तथा प्रशिक्षणको व्यवस्था गर्न भनेको छ।

अध्ययन समितिले सडकको दुरावस्था सुधार्नेदेखि ग्रामीण सडकका ओरालो घुम्ती बाटोको छेउमा बलियो छेकबार (रेलिङ)को व्यवस्था गर्नुपर्ने भन्दै त्यसका लागि सम्बन्धित निकायमा सिफारिस गर्न पनि भनेको छ। साथै प्रतिवेदनले अत्यन्तै पुराना तथा जीर्ण भई जाँच पासमा फेल भएका सवारी साधन प्रयोग नगर्न, स्कुल बस निर्देशिका २०७४ को पालना गर्न पनि सुझाएको छ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतिराज तिमिल्सिनाले प्रतिवेदनले औँल्याएका कुराहरु महानगरले योजनाबद्ध ढंगले कार्यान्वयन गर्ने बताए। त्यसका लागि सरोकारवालाहरू प्याव्सन, एन प्याव्सन, हिसान तथा विद्यार्थी संगठनका प्रतिनिधिहरूसँग एक चरण छलफल भइसकेको उनको भनाई छ। प्रतिवेदन दराजमा थन्किँदैन,उनले भने,'यसले औँल्याएका विषयहरू र दिएका सुझावहरू योजनाबद्ध ढंगले कार्यान्वयनमा महानगरले लैजान्छ।’ उनले स्कुल बसले अबदेखि बसको अवस्था र पार्टपुर्जा नियमित चेकजाँच गर्नुपर्ने, पुराना र जीर्ण भएका बस सञ्चालन गर्न नपाउने, समय भन्दा अगाडि बस सञ्चालन नगर्ने लगायतका कुराहरु कडाइका साथ कार्यान्वयन गर्ने बताए।

प्रकाशित: २८ श्रावण २०८१ १८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App