समाज

धर्मरक्षा, राष्ट्ररक्षा र मानवताका लागि पदयात्रा

धर्मरक्षा, राष्ट्ररक्षा, मानवता र नशामुक्त नेपाल निर्माणका लागि हजारौंको संख्यामा जनजागरण पदयात्रा सम्पन्न भएको छ।

भगवती मानव कल्याण संगठनले शनिबार राष्ट्रस्तरीय नशामुक्त जनजागरण पदयात्रा सम्पन्न गरेको हो। ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’ मूल नारासहित संगठनले पदयात्रा गरेको छ।

पदयात्राका माध्यमबाट तीनै तहका जनप्रतिनिधि एवम् सरोकारवाला निकायलाई नशामुक्त समाज घोषित गर्न खबरदारी गर्ने संगठनले जनाएको छ।

अन्तर्राष्ट्रिय अभियन्ता सिद्धाश्रम–रत्न अजय अवस्थी र नेपाल सरकारका जनप्रतिनिधिका साथमा १० किलोमिटरको पदयात्रा सम्पन्न भएको संगठनले जनाएको छ।

कार्यक्रमअन्तर्गत नशामुक्त नेपालका लागि गरिएको हस्ताक्षर संकलनमा हजारौंले हस्ताक्षर गरेर सहमति जनाएका छन्।

पदयात्रा काठमाडौंस्थित चाबहिलबाट सुरु भएर चुच्चेपाटी, बौद्ध, जोरपाटी, पिपलबोट, चामुण्डा गेट, वाहनधारा, सर्वेश्वर मन्दिर, नयाँबस्ती युवा क्लब हुँदै गुह्येश्वरी क्षेत्रमा पुगेर समापन भएको थियो।

नशामुक्त जीवन अपनाऔं–जीवन आफ्नो सफल बनाऔं, अघि बढौं दाजुभाइ नशामुक्त बन्नलाई, सारा नेपाली के भन्छ ? नशामुक्त देश ल्याऊ भन्छ, भगवती मानव कल्याण संगठन–सत्य धर्मको रक्षक हो’लगायत नारासहित हजारौंको उपस्थिति रहेको थियो। संगठनले विगत १६ वर्षदेखि नशामुक्त अभियानका रुपमा काम गर्दै आएको छ। संगठनले नेपालमा हालसम्म ५ हजार परिवारलाई नशामुक्त गरिसकेको दाबी गरेको छ।

संगठले नशामुक्त नेपाल–समृद्ध नेपालको देशव्यापी अभियानअन्तर्गत आध्यात्मिक अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै जानकारी दिएको छ।

प्रकाशित: २० श्रावण २०८१ १६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App