समाज

विमल पोद्दारलाई सुन आयोगको सुनपानी !

लामो समयदेखि सुन तस्करीमा संलग्न व्यापारी विमल पोद्दारलाई सुन आयोग बनाएर उन्मुक्ति दिएको पाइएको छ। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले उनलाई उन्मुक्ति दिएको हो। आयोगले सरकारलाई बुझाएको प्रतिवेदनको पृष्ठ ३६९ मा पोद्दारका बारेमा उल्लेख छ।  स्रोतका अनुसार उनी करिब १६ वर्षदेखि सुन तस्करीमा संलग्न छन्।

‘हालसम्म संकलित अन्य प्रमाणबाट समर्थित रहेको भन्ने नदेखिएको हालको स्थितिमा सुन तस्करीसँग सम्बन्धित अभियुक्तहरूसँगको मोबाइल सम्पर्ककै आधारमा मात्र अभियोजनका लागि सिफारिस गर्न मिल्ने देखिएन,’ पोद्दारकाबारेमा प्रतिवेदनको पृष्ठ ३६९ मा लेखिएको छ। 

त्यसमा ‘आयोगबाट संकलित सबुद प्रमाणहरूको मूल्यांकन रोहबाट हेर्दा सुन तस्करीमा भएका व्यक्तिहरूको हकमा सुन तस्करीमा सम्बन्धितसँग पारस्परिक सञ्चार सम्पर्क भए पनि परिस्थितिजन्य समर्थन नगरेको’ उल्लेख छ। पोद्दारलाई व्यापारिक साझेदार दीपक मल्होत्रासँग सम्बन्ध विच्छेद भएका आधारमा पनि तत्काल अभियोजन लगाउन  नमिल्ने प्रतिवेदनमा उल्लेख छ।

पूर्वप्रतिवेदनहरूमा समेत पोद्दार सुन तस्करीमा संलग्न रहेको स्वीकार गरिए पनि उनलाई कारबाही गर्नुपर्ने अवस्था नभएको प्रतिवेदनमा लेखिएको छ। सुन तस्करी छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा किशोरजंग कार्की, सहकुल थापा र प्रेमराज जोशी सदस्य रहेको उच्चस्तरीय आयोग गठन गरिएको थियो।

तत्कालीन प्रतिपक्षी दल तथा हाल सरकारको नेतृत्व गरिरहेको एमालेको मागपछि सुन तस्करी छानबिन आयोग गठन भएको हो । २०८० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेको थियो र त्यसलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको थियो । तर सो आयोगले ६ महिनापछि मात्रै प्रतिवेदन बुझाएको थियो।

आयोगले पोद्दारका  विषयमा अनुसन्धान नै गर्न नचाहेको देखिन्छ। प्रतिवेदनमा पोद्दारको विषयमा उनका व्यापारिक साझेदार दीपक मल्होत्रासँग मात्रै सोधपुछ गरेको देखिन्छ। उनले पोद्दार पुरानो व्यापारिक साझेदार रहेको तर अहिले साझेदार नभएको र सम्पर्क पनि नभएको बताएका थिए।

सोही आधारमा मात्र उनलाई उन्मुक्ति दिइएको हो वा होइन भन्नेबारेमा यकिन भने भएको छैन। नेपाल प्रहरीले सुन तस्करीमा विगतका वर्षदेखि नै पोद्दारको कहीं न कहीं संलग्नता रहेको पुष्टि गर्दै आएको छ। प्रहरी अनुसन्धानका सबैजसो प्रतिवेदनहरूमा सुन तस्करीमा पोद्दारको संलग्नता रहेको देखिए पनि आयोगले उनलाई उन्मुक्ति दिएको छ।

२०६९ सालमा सिआइबीको अनुसन्धानबाट मुरारीलाल गोयल (जमालिया), बालकृष्ण अग्रवाल, पवन अग्रवाल, विमल पोद्दार, सत्यनारायण कुकरा (सोनी), घनश्याम कुकरा, गोपाल कुकरा, राजेश अग्रवाल, बिक्की अग्रवाल, घनश्याम अग्रवाल, ग्याम्जो लामा, मोहनकुमार अग्रवाल, सञ्जय पाण्डे र बलराम गुप्ता काठमाडौंमै बसेर सुन तस्करीमा सक्रिय रहेको खुलेको थियो।

त्यस्तै ज्ञानकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कन्याप्रसाद गुरुङ, विनोदकुमार सोनी, राधाकृष्ण कुकरा, कृष्णप्रसाद खड्का, सुमन अग्रवाल पनि सुन तस्करीमा संलग्न रहेको खुलेको थियो । प्रभु सर्राफ, उमेश साह, रामबाबु साह, रजनी साह र राजु द्वारा वीरगन्जमा बेस सुन तस्करीमा सक्रिय भएको पाइएको थियो। उनीहरूसँग विमल पोद्दारको कतै न कतै संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएका छन्।

२०७४ सालमा भित्रिएको तस्करीको ३३ किलो सुन प्रकरणमा जोडिएका उनी २०८० मंसिरमा दुबईबाट ल्याइएको १४ किलो सुन प्रकरणमा पनि मुछिएका थिए। ३३ किलो सुन प्रकरण छानबिनका लागि सरकारले गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो।

समितिको अनुसन्धानका क्रममा विमल पोद्दार २०७५ असार ६ गते पक्राउ परेका थिए। जिल्ला अदालत मोरङले संगठित सुन तस्करीको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। पछि उच्च अदालतबाट पोद्दार धरौटीमा छुटेका थिए।

प्रकाशित: १८ श्रावण २०८१ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App