समाज

चार छोरा बुहारीसँगै भत्ता लिन पुग्छिन् १०२ वर्षीय फूलमति

१०२ वर्षीय फूलमतिसँगै दुई छोरा र बुहारी सामूहिक फोटो खिच्दै। स्बिर सौजन्य: कृष्ण भुसाल

बर्दियाको गुलरिया नगरपालिका वडा नं-७ स्थित गुलरिया गाउँकी १०२ वर्षीय फूलमति मुराउँ गुलरियामा सबैभन्दा ज्येष्ठ नागरिकको रूपमा परिचित छिन्। उनले चार वर्ष अघि लिएको नागरिकताबाट उनकाे उमेर १०२ वर्ष पुगेको पुष्टि भएपनि, परिवारले उनको वास्तविक उमेर ११० वर्ष पुगेको दाबी गर्छन्।

फूलमतिले चार वर्षदेखि निरन्तर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएकी छिन्। नगरपालिकाले ८० वर्षमाथिका वृद्ध वृद्धाका लागि घरमै गएर ‘कार्ड रिन्यु’ गर्ने सुविधा दिए तापनि फूलमति आफैं वडा कार्यालय पुग्ने गर्छिन्। वडा कार्यालयका कर्मचारीले उनलाई निकै सम्मानका साथ भत्ता कार्ड रिन्यु गरेर पठाउने गर्छन्।

फूलमतिले मात्र होइन, उनका चार छोराहरू र बुहारीहरूले समेत सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्। वडा अध्यक्ष मनोज यादव भन्छन्, "आमालाई कार्यालय आउन पर्दैन भनेका छौं, तर उहाँ छोरा र बुहारीसँगै कार्यालय आउनुहुन्छ। हामीले कार्ड रिन्यु गरेर सम्मानपूर्वक घर पठाउने गरेका छौं।"

फूलमतिको गाउँमा उनका सहपाठी, साथी संगीनी र छरछिमेक कोही पनि बाँचेका छैनन्। उनले आफूसँगै सामाजिक सुरक्षा भत्ता लिन योग्य छोराहरू र बुहारीलाई लिएर वडा कार्यालय पुग्न थालेको चार वर्ष भइसकेको छ। उनका कान्छा छोरा भन्छन्, "आमाले नयाँलाई चिन्ने गर्नुहुन्छ, तर कहिलेकाहीं भुल्ने पनि गर्नुहुन्छ।"

फूलमतिको पालनपोषणको जिम्मा उनका छोरा र बुहारीहरूको काँधमा छ। उनी पालैपालो छोराछोरीका घरमा बस्दै आएकी छिन्। बुधबार वडा कार्यालय पुग्दा फूलमति र उनका छोरा/बुहारीलाई सबैले स्वागत गरेका थिए। वडा अध्यक्ष यादव स्वयं फूलमतिको स्वागतमा खटिएका थिए।

फूलमतिको आगमनले वडा कार्यालयमा खुसीको माहोल थियो। सेवाग्राहीहरूले फूलमतिसँगै सेल्फी खिच्नका लागि तँछाडमछाड गरिरहेका थिए। कर्मचारीहरूले फूलमतिलाई फलफूल टक्र्याउँदै उनको स्वास्थ्यबारे सोधपुछ गरे। फूलमतिको अनुहारमा कुनै निराशा थिएन, बरु भत्ता बुझ्न पाउँदा खुसीले भरिएको थियो।

फूलमतिसँगै उनका जेठा छोरा राममनोहर, बुहारी र कान्छा छोरा अमेरिका पनि उपस्थित थिए। जेठा छोरा राममनोहरको उमेर ८१ वर्ष पुग्यो भने अन्य छोराको उमेर दुई वर्षको फरक रहेको रेकर्डमा देखिन्छ। वडा कार्यालयका कर्मचारी लुना आचार्यले सामूहिक फोटो कैद गर्दा रमाइलो भएको प्रतिक्रिया दिइन्।

पाँच भाइ छोरा र तीन छोरी जन्माएकी फुलमतिले एउटा छोरा गुमाएकी छन्। बाँकी छोरा र बुहारी सामाजिक सुरक्षा बुझ्ने उमेर पार गरिसेका छन्।

प्रकाशित: १७ श्रावण २०८१ २०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App