समाज

काँचो स्याउ नटिप्न सुझाव

जुम्ली किसानलाई अपरिपक्क अवस्थामा स्याउ नटिप्न सुझाव दिइएको छ। अपरिपक्क अवस्थामा स्याउ टिप्दा स्याउको गुणस्तर खस्किदै जादा पहिचान गुम्ने खतरा बढेकोले परिपक्क भइसकेपछि मात्रै स्याउ टिप्न आग्रह गरिएको हो।

कृषि विज्ञका अनुसार भदौ पहिलो साता पछि मात्रै स्याउ टिप्दा उपयुक्त मानिन्छ। नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौति हुने गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए। उनले सुरक्षित स्याउ टिपाई तथा बजारीकरणका लागि जोड दिन आग्रह गरे।

भदौ महिनाको पहिलो सातासम्म स्याउ बिक्रि बितरण नगर्न किसान र व्यापारीलाई जुम्लाका स्थानीय तहले आग्रह गरेका छन्। परिपक्क र स्याउको रंग ७० प्रतिशतभन्दा माथि भइसकेपछि मात्रै बिक्रि गर्न किसानलाई निर्देशन गरिएको छ। प्रमुख जिल्ला अधिकारी  घिमिरेले भदौ महिनाको पहिलो हप्ता भन्दा अगावै स्याउ बिक्रि गर्ने किसान र ब्यापारीलाई कारबाहीको दायरामा ल्याउने बताए।

काँचो नपाकेको स्याउ टिप्न स्थानीय तहले अनुमति नदिनु पर्ने र यस्ता कामहरुको निगरानी नजिकैको सरकारले गर्नुपर्ने उनी बताउँछन्। विगत वर्षहरुमा काँचो र अपरिपक्क स्याउ बाह्य बजारमा गएकै कारण जुम्लाको स्याउको पहिचान गुमेको छ। ‘स्याउ प्याकेजिङ्गमै समस्या समस्य छ, उनले भने, ‘स्याउको बजार पहिचान गरी स्याउ निर्यात हुनुपर्ने हो, किसानले हतारिन जरुरी छैन, बगैचामा पाकेको रातो गुलियो स्याउ बेच्नुको आनन्द फरक हुन्छ।’किसानमा जनचेतनाको कमी रहेका कारण बजारकरीकारणमा थुप्रै चुनौति छन्, उनले थपे। 

स्याउ फुल्नु भन्दा पहिले जुम्लाको स्याउको बजार पहिचान गर्न आवश्यक छ। यता जुम्लाको तिला गाउँपालिकाले स्याउँ बगैंचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ संकलन तथा निकासी गर्न आग्रह गरेको छ। गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकको निर्णयले वडा एक देखि ९ वडासम्मका सबै स्याउ बगैंचा धनी र व्यापारीलाई भदौ ५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरेको छ। 

गाउँपालिकाले जुम्लादेखि सुर्खेत, नेपालगञ्ज, बुटवल, नारायणगढ, काठमाडौं हुँदै देशका विभिन्न जिल्लाका सहरहरुमा भदौ पहिलो साता अगावै निर्यात नगर्न दिने निर्णय गरेको अध्यक्ष मोतिलाल रोकायले बताए। अध्यक्ष रोकायले भने, ‘भदौ अघि नै टिप्न थाल्यो भने स्याउ परिपक्व नहुने, रंग नभरिने, उपभोक्ताहरुले आवश्यक स्वाद प्राप्त नगर्ने, काँचो स्याउले जुम्ली अर्गानिक स्याउको बदनाम हुन्छ। किसानहरुले सोचेको मूल्य नपाउने कुरालाई गहन अध्ययन गरी तोकिएको मिति भन्दा अगाडि स्याउ संकलन तथा निकासी गर्न रोक लगाइएको हो।

गाउँपालिकाको निर्णय अनुसार भदौ ५ गते अघि स्याउ बगैंचा धनीहरुलाई स्याउ संकलन र व्यापारीहरुलाई निकासी नगर्न भनी प्रचारप्रसार गरिएको छ। गाउँपालिकाको कृषि शाखा र सम्बन्धित वडाको सिफारिस लिएर मात्र स्याउ निकासी गर्न सार्वजनिक सूचनामार्फत सरोकारवालाहरुलाई जानकारी गराइएको छ।

स्याउ सुपरजोन जुम्लाका प्रमुख खेमराज शाहीले  किसान र ब्यापारी बिचमा  समन्वय गरेर लिँदा जुम्लाको स्याउ बाह्य बजारमा बिक्रिका लागि उपयुक्त हुने तर्क गरे। शाहीले भने, ‘ब्यवसायिक रुपमा स्याउको व्यापार र उत्पादन बढाउन सके जुम्ला जिल्लामा मनग्य आम्दानी हुनेछ।’  

जिल्लामा १९ हजार घरधुरीमध्ये १६ हजार घरधुरीमा स्याउ गरेको तथ्यांक छ। जुम्लाको बेसीदेखि लेकसम्मको सबै जमिन स्याउले ढाकिएको छ। पछिल्लो समय स्याउ खेतीको क्षेत्र समेत विस्तार हुँदै गएको छ। जुम्लाको चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ।

कार्यालय जुम्ला प्रमुख शाहीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा जुम्लामा १५ हजार मेट्रिटन स्याउ उत्पादन भएको छ। भने १० हजार मेट्रिकटन स्याउ निर्यात भएको देखिन्छ। ५० करोड आम्दानी भएको छ।

गुठिचौर गाउँपालिका-९४ उखाडी गाउँका स्याउ किसान रामकान्त पाण्डेले गुणस्तरीय स्याउ बजारमा लैजान सके जुम्ली स्याउको पहिचान अझै बढ्न सक्ने बताए। जुम्लाले स्याउबाटै कृषि क्रान्ति सुरु गरेकोले गुणस्तरीय उत्पादन, ग्रेडिङ, लेवलिङ तथा प्याकेजिङमा ध्यान दिनुपर्ने उनको भनाइ छ। 

ढुवानीमा राज्यले सहुलियत दिनुपर्ने उनको जोड छ।‘जुम्ला समृद्धिको एक स्रोत स्याउ हो। स्याउको व्यवसायी खेती विस्तार तथा किसानको उत्पादन सुरक्षित हुने नीति आवश्यक छ’ उनले भने ‘सरकारले ढुवानीमा सहुलियत दिनुपर्छ किसानले उत्पादनमा जोड दिन जरुरी छ।’

प्रकाशित: १६ श्रावण २०८१ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App