समाज

ठेकेदारको लापरबाहीले विद्यार्थीलाई सडक सास्ती

चरिकोटमा निर्माणाधीन ढल निकास आयोजनाले अस्तव्यस्त पारेको सडकबाट विद्यालय जाँदै कालिन्चोक माविका विद्यार्थी। तस्बिर: रमेश/नागरिक

दोलखाकाे सदरमुकाम चरिकोट बजार क्षेत्रमा ढल निकासको ठेक्का पाएको निर्माण कम्पनीले काम अलपत्र छाड्दा विद्यालय जाने सडक हिलाम्मे र अस्तव्यस्त भएका कारण विद्यार्थीको बिचल्ली भएको छ।

ठेकेदार कम्पनीको लापरबाहीले सदरमुकाम चरिकोटको कालिन्चोक माध्यमिक विद्यालय जाने सडक हिलोले भरिएको छ, जसका कारण विद्यार्थी र बटुवाहरूले चरम सास्ती व्यहोरेका छन्।

चरिकोटको हाटबजार–हुलाक–टुटेपानी सडक क्षेत्र ठेकेदारको लापरबाहीले अस्तव्यस्त बनेको छ। सदरमुकाम चरिकोटको ढल निकासको ह्युम पाइप यही सडक क्षेत्रका विभिन्न भाग हुँदै प्रशोधन केन्द्रसम्म पुग्छ। तर, निर्माण कम्पनीले गत हिउँदमै सडक भत्काएर त्यसै अलपत्र छाडेको छ।

एसियाली विकास बैंकको ऋण अनुदानमा सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागले ८२ करोड खर्च गरेर चरिकोट बजारका घरहरूबाट प्रशोधन केन्द्रसम्म फोहोर पानी र ढल पुर्‍याउन भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा मार्फत काम गराइरहेको छ। तर, ढिलासुस्ती र चरम लापरबाहीका कारण निर्माण कम्पनीले गत वैशाखदेखि नै काम अलपत्र पारेर त्यसै छाडेको छ।

प्रधानाध्यापक शम्भु गौतमका अनुसार विद्यार्थीहरूले यो समस्याको सबैभन्दा धेरै सास्ती भोग्नुपरेको छ। 'बिहान स्कुल आउँदा विद्यार्थीहरू हिलोमा पछारिएर आइपुग्छन्,’ गौतमले भने, 'पटक पटक खबर गर्‍यौं, आग्रह गर्‍यौं, तर पनि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन।’

विद्यालय आउने सडक अस्तव्यस्त भएका कारण विद्यार्थी र शिक्षक दुवैले कठिनाइ व्यहोर्नुपरेको प्रधानाध्यापक गौतमले बताए। ढलको पाइपले र सडक अस्तव्यस्त हुँदा विद्यालय प्राङ्गणमा भल पसेर भवन र मैदानलाई जोखिम बढाएको उनले सुनाए।

ढल निकास आयोजनाको परामर्शदाता कम्पनी बिडिए परामर्श सेवा प्रालिका इन्जिनियर सन्तोष भुजेलका अनुसार, बर्षातका कारण काम गर्न नसकेर निर्माण कम्पनी साइटमा नरहेकाले सडक सफा गर्न नसकिएको हो।

‘त्यो विद्यालय जाने बाटो समेत परेकाले दुई पटक ग्राभेल लगेर बिछ्याउन पनि लगायौं,’ उनले भने, ‘तर रातो माटो भएकाले अडिएन, फेरि जस्ताको तस्तै भयो।’ भुजेलले तुरुन्तै उपाय निकालेर सडक सफा गरिने बताए।

निर्माण कम्पनीको म्याद गत वैशाखमै सकिएको र असोजसम्मका लागि ६ महिना म्याद थप भएको उनले सुनाए। निर्माण कम्पनीले १९ किलोमिटर पाइपलाइनमध्ये अब करिब ७ किलोमिटरमा ह्युम पाइप बिछ्याउन बाँकी रहेको परामर्शदाता कम्पनीले जनाएको छ।

मुख्य बजार केन्द्र र राजमार्गका सडक खन्नका निम्ति सडक विभाग र स्थानीयले बर्षातको समयमा अनुमति दिएका छैनन्।

गत वर्ष हिउँदमै काम नगरेर लापरबाही र ढिलासुस्ती गर्ने अनि बर्षातमा आएर सडक खनेर अलपत्र पार्ने काम स्वीकार्य नहुने भन्दै बजारवासी र स्थानीयले विरोध गरेका थिए। प्रशोधन केन्द्रमा भने काम प्रायः सकिएको भुजेलले जानकारी दिए।

प्रकाशित: १३ श्रावण २०८१ १५:२१ आइतबार