समाज

दाङमा ह्वात्तै बढ्यो जडीबुटी उत्पादन

दाङमा जडीबुटी उत्पादन बढेको छ। टिमुर, हर्रो,बर्रो, त्रिफला, लहरेगुर्जो मालागेडी उत्पादनमा वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०८०-०८१ मा  ६ लाख किलो जडिबुटी उत्पादन भएको छ। गत आर्थिक वर्षमा निजी वनबाट सबैभन्दा धेरै टिमुर उत्पादन भएको थियो।

उक्त आवमा टिमुर एक लाख ४९ हजार ६ सय ७० किलो, मालागेडी एक लाख ३९ हजार ६ सय २० किलो, रिठा ८३ हजार ८ सय ७० किलो, तेजपात ४३ हजार ४ सय ५० किलो, काउलो ३६ हजार ५ सय किलो, दालचिनी ३५ हजार २० किलो, कालिकाठ २९ हजार ३ सय ७० किलो उत्पादन भएको छ।

वन डिभिजन कार्यालयका अनुसार चुत्रो ९ सय ४० किलो, अमला ५ सय किलो, गुर्जो लहरा १ हजार किलो र तिगेडी ६ हजार ४ सय ६० किलो उत्पादन भएको छ।

उक्त कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा ६ लाख ३८ हजार रूपैयाँ राजस्व सङ्कलन भएको थियो। आर्थिक वर्ष २०७९–०८० मा त्यो घटेर ५ लाख ६१ हजार ५ सय रूपैयाँमा सीमित भएको थियो। यद्यपि गत आर्थिक वर्ष २०८०–०८१ मा जडीबुटी सङ्कलन इजाजत बापतको राजस्वमा केही सुधार भएको छ।

उक्त अवधिमा ५ लाख ७६ हजार ७ सय रूपैयाँ राजस्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०७८–०७९ मा २९ हजार ५ सय ५० किलो टिमुर उत्पादन भएकामा आर्थिक वर्ष २०७९–०८० मा त्यो घटेर १३ हजार किलोमा झरेको थियो।

आर्थिक वर्ष २०७८–०७९ मा दाङको राष्ट्रिय र निजी वनबाट २ लाख ४१ हजार ७ सय ४२ किलो काठ बेचिएकोे थियो।  टिमुरका लागि दाङ पकेट क्षेत्रका रूपमा रहेको जिल्लाको बङ्गलाचुली गाउँपालिकासहित घोराही उपमहानगरपालिकाको वडा नम्वर १ र १८, तुलसीपुर उपमहानगरपालिकाको १९, शान्तिनगर गाउँपालिका लगायत पहाडी क्षेत्रमा पनि यसको उत्पादन आएको छ।

प्रकाशित: ८ श्रावण २०८१ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App