वरिष्ठ पर्यटन व्यवसायी एवं द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधनमा नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनमा सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेको उल्लेख छ।
‘९२ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा श्रावण ३ गते बिहीबारका दिन भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ,’ शोक वक्तव्यमा भनिएको छ।
शोक वक्तव्यमा स्वर्गीय श्रेष्ठ हिमाल मिडियाको संस्थापक अध्यक्ष तथा स्पेनका लागि पूर्व अवैतनिक महावाणिज्यदूत समेत भएको कुरा स्मरण गरिएको छ।
कांग्रेसको शोक वक्तव्यमा श्रेष्ठले साढे ६ दशकदेखि नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा अनवरत रुपमा संलग्न रहेर यस क्षेत्रको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको स्मरण गरिएको छ। ‘पर्यटन क्षेत्रका साथै महिला उद्यमशीलता प्रवद्र्धन र महिला सशक्तिकरणमा स्वगीय श्रेष्ठले महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो,’ शोक वक्तव्यमा भनिएको छ,‘उहाँ सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो। उहाँको निधनबाट यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ।’
श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो।
प्रकाशित: ४ श्रावण २०८१ १२:५७ शुक्रबार