समाज

पृतनामा सैनिकको मृत्युबारे आन्तरिक छानविन सुरु

इटहरी- पूर्वी पृतना मुख्यालय इटहरी अन्तर्गत श्री सवुज गणमा कार्यरत दुई जना सैनिक मृत्यु भएको घटनाको आन्तरिक छानबीन थालिएको छ।

गणमा कार्यरत बर्दिया नेउलापुरका सैनिक अमलदार भरत बिक र सल्यान दमाचौर प्युठ दोलख चन्दको मृत्यु भएको घटनाको सेनाको आन्तरिक समितिले छानबीन थालेको हो । विक र चन्द सोमबार राति ९ बजेतिर पृतना मुख्यालय हाताभित्रको स्विमिङ पुलको उत्तर पूर्वमा रहेको माछा पोखरीमा अचेत अवस्थामा फेला परेकोमा उपचार गर्न अस्पताल भर्ना गरेपछि मृत्यु भएको थियो।

सैनिक द्वयको मृत्युबारे  सवुज दलका गणपति लक्ष्मीभक्त क्षेष्ठको नेतृत्व समितिले छानबीन थालेको छ । श्रेष्ठ नेतृत्व समितिले प्रारम्भिक छानबीन थालेको र पोष्टमार्टम रिपोटका आधारमा आवश्यक परेको खण्डमा मात्र केन्द्रले अर्को छानबीन समिति गठन गर्न सक्नेछ।

 ‘आन्तरिक छानबीन गर्नका लागि सम्बन्धित गणलाई अर्डर गरि सकिएको छ,’ सैनिक मुख्यालयका प्रवक्ता गोकुल भण्डारीले नागरिकसँग टेलिफोनमा भने, ‘छानबीन गर्न समय भने लाग्छ ।’ उनका अनुसार, सम्बन्धित गणले आन्तरिक रुपमा छानबीन गर्दाको रिपोर्ट र पोष्टमार्टम रिपोर्टका आधारमा मात्र मुख्यालयबाट उच्चस्तरीय समिति गठन गर्न सकिनेछ।

 ‘आन्तरिक समितिले प्रारिम्भक चरणमा डियूटीमा खटिनेसँग सोधीखोजी गर्नुका साथै के भएको हो ? भनेर पत्ता लगाएपछि मात्र थप प्रक्रिया अगाडि बढनेछ,’ प्रवक्ता भण्डारीले भने।

पृतना मुख्यालय अनुसार, सैनिक मृत्युको सम्बन्धमा आन्तरिक समितिले छानबीन पूरा गरि आफन्तलाई सैनिक ऐन अनुसार क्षतीपूर्ति दिने वा नदिने समेत टुंगो लगाउनेछ । ‘कस्तो प्रकृतिको घटना छानबीनबाट टुंगो लागेपछि क्षतीपूर्तिको पनि टुंगो लाग्नेछ,’ पृतना मुख्यालयका एक सिनियर अधिकृतले भने । पृतनाका ती सिनियर अधिकृतका अनुसार, मृतक दुवै सैनिकका परिवारका सदस्यको सहमतिमा पोष्टमार्टम गरिने भएको छ। पोष्टमार्टमको रिपोट विहीबारसम्म आउनेछ ।

‘पोष्टमार्टको रिपोटपछि मृतकको शव आफन्तले इच्छाएको ठाउँमा पुर्‍याएर अन्तिम दाहसंस्कार गरिनेछ,’ पृतनाका सिनियर अधिकृतले भने । मृतक सैनिकका आफन्त बुधबार आइ पुगेपछि मृत्यु हुँदाको सम्पूर्ण घटनाक्रमबारे जानकारी  गराएपछि पोष्टमार्टम गर्ने सहमति भएको थियो । 

मृतक सैनिक विक र चन्द सोमबार राति ९ बजेतिर अचेत अवस्थामा भेटिएका थिए । दुवैलाई तत्काल पृतना हाताभित्रै रहेको फिल्ड अस्पतालमा उपचार गर्न भर्ना गरिएकोमा सम्भव नभएपछि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । सैनिक विक र चन्दको धरानमा उपचारकै क्रममा  मृत्यु भएको थियो ।

        

प्रकाशित: १४ चैत्र २०७४ १४:३४ बुधबार

पृतनामा सैनिकको मृत्युबारे आन्तरिक छानविन सुरु