समाज

जगन्नाथ रथयात्रा महोत्सवमा हजारौँ सहभागी

नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा  आयोजित  जगन्नाथ रथयात्रा  महोत्सवमा हजारौँ मानिस सहभागी भएका छन्।

इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन राजधानीमा रथयात्रा गर्ने गरेको छ । द्वापर युगमा गोपिनीहरुले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा गर्न थालिएको इस्कोनका सचिव रुपेश्वर गौरवदासले  जानकारी दिए।आइतबारका  दिन नेपाललगायत एक सय ६५ देशमा यो यात्रा भएको पनि उनले सुनाए।

जगन्नाथ रथयात्रा कमलादीबाट पुतलीसडक, भृकुटीमण्डप, सहिदगेट, नेपाल वायुसेवा निगम, न्युरोड हुँदै टुँडिखेलमा पुगेर समापन गरिएको सचिव गौरादासले बताए। समापनपछि टुँडिखेलमै प्रसाद पनि वितरण गरिएको थियो । रथयात्रामा हजारौँ मानिस उत्साहका साथ सहभागी भएका थिए ।

नेपालमा फरक–फरक दिन वर्षमा एक दिन ११ स्थानमा जगन्नाथ रथयात्रा हुने गरेको छ । बौद्ध, पोखरा, विराटनगर, धरान, इटहरी, राजविराज, जनकपुर र वीरगञ्जलगायत स्थानमा जगन्नाथ रथयात्रा गर्ने गरिएको इस्कोनले जनाएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा आयोजित एक विशेष समारोहका बीच सो रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन।सो अवसरमा राष्ट्रपति पौडेलले भगवान् जगन्नाथको पूजाअर्चना र आरती पनि गरेका थिए ।  

प्रकाशित: २३ असार २०८१ १७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App