समाज

झीर्पू जलविद्युत् आयोजनाको ढलान भासिँदा दुई जना बेपत्ता, १० कामदारको उद्धार

चीनसँगको सीमावर्ती भोटेकोसी गाउँपालिकामा निर्माणाधीन एक जलविद्युत आयोजनाको गर्दागर्दैको सुरुङ ढलान भासिँदा च्यापिएका १० कामदारको उद्धार गरिएको छ। भासिएको ढलानभित्रै किचिएर अझै दुई कामदार हराइरहेका छन्।

भोटेकोसी–४ मा निर्माणाधीन झीर्पू इलेक्ट्रो पावर कम्पनी लिमिटेडको ड्यामसाइडको सुरुङ ढलान शुक्रबार दिउँसो भासिएको हो। सुरुङ ढलान गर्ने काम भइरहेको थियो। दिउँसो २ बजेतिर भएको घटनामा १२ कामदार पुरिएका थिए। पुरिएकामध्ये १० कामदारलाई घाइते अवस्थामा उद्धार गरी उपचारमा पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराईले जनाए। 

उनका अनुसार घाइतेहरूको बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्र र किष्टोन अस्पतालमा उपचार भइरहेको छ। केहीलाई प्राथमिक उपचारपछि धुलिखेल अस्पताल रेफर गरिएको छ। घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ।

हराइरहेका दुई कामदारको खोजी भइरहेको डिएसपी भट्टराईले बताए। पहिचान नखुलेका उनीहरु दुई घण्टादेखि ढलानमै किचिएर हराइरहेको उनले जनाए। बेपत्ताको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली जुटिरहेका छन्। 

प्रकाशित: २१ असार २०८१ १७:५३ शुक्रबार

#Jhirpu Hydroelectric Project