समाज

अपाङ्गता भएका छ सय बढीलाई परिचयपत्र

शुक्लाफाँटा नगरपालिकाले अपाङ्गता भएका छ सय तीन जनालाई परिचयपत्र प्रदान गरेको छ।

नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कमला जोशीका अनुसार ‘क’ वर्गका एक सय १८, ‘ख’ वर्गका दुई सय ८७, ‘ग’ वर्गका एक सय ४७, ‘घ’ वर्गका ५१ जनालाई अपाङ्गताको परिचयपत्र प्रदान गरिएको हो। दुई जना ज्येष्ठ नागरिक महिला र चार पुरुषलाई उनीहरूका घरमै पुगेर परिचयपत्र प्रदान गरिएको हो।

पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई ‘क’ वर्गको रातो रङमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई ‘ख’ वर्गको निलो रङमा सुनौला अरक्षले स्पष्ट पहिचान हुने, मध्यम अपाङता भएकालाई ‘ग’ वर्गको पहेँलो रङमा निलो अक्षरले स्पष्ट पहिचान हुने र सामान्य अपाङ्गता भएकालाई ‘घ’ वर्गको सेतो रङमा कालो अक्षरले स्पष्ट पहिचान हुने परिचयपत्र वितरण हुने गरेको छ।

नगरपालिकाकै स्वाथ्य संस्थामा चिकित्सकको व्यवस्था भएकाले विगतको जस्तो मेडिकल ‘रिपोर्ट’ बनाउन महेन्द्रनगर, धनगढी लगायत अस्पतालमा अपाङ्गता भएका व्यक्तिहरूले पुग्नुपर्ने झन्झट नरहेको नगर उपप्रमुख कल्पना पन्तले बताइन्।

पूर्ण अशक्त अपाङ्गता भएका र अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने घरमै पुगेर परिचयपत्र वितरण गर्दै आएको उनले बताइन्। रातो र निलो रङका परिचयपत्रबाहक अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम उपलब्ध गराइँदै आएको छ। पहेंलो र सेतो रङका परिचयपत्रवाहक अपाङ्गतालाई नगरपालिकाले विभिन्न सीपमूलक तालिम र आयआर्जनका कार्यक्रममा समेट्दै आएको छ। 

प्रकाशित: १६ असार २०८१ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App