समाज

सम्मानले बिर्सायो विभेदको पीडा

इलाम – २०४६ सालको एक दिन। मंगलीमाया विक इलामको सिम्ले खेतमा रोपाइँ गर्न खेताला गइन्, छिमेकीको खेतालाका रुपमा। साथमा थिइन् ७ वर्षीया माइली छोरी। दिउँसो २ बजेतिर खाजा–चिया खाने बेला भयो । आफूसँगै रोपाइँ गरिरहेका करिब ३५ खेतालाले स्टिल र आल्मुनियमका थालमा रमाईरमाई खाजा खाए । मंगली र उनकी छोरीलाई अरू सबैले खाइसकेपछि मात्र खाजा दिइयो, त्यो पनि फूलतरुलको पातमा।

दलितको पेटबाट जन्मिएकै कारण सबैभन्दा अपमानित हुनुपरेको अनुभव भयो उनलाई। मनभित्रैबाट विद्रोहको ज्वाला दन्कियो। ‘भोकले कटकट खाइरहेको पेट त्यसै भरिएर आयो, मलाई र काखकी छोरीलाई पातमा दिएको खाजा हेर्दैनहेरी हिलोमा हुइँक्याइदिएँ,’ उनले गहभरि आँसु पार्दै विगत सम्झिइन्, ‘मैले त बरु अपमान खाएरै भोक बिर्सिसकेकी थिएँ, छोरी कति भोकाएकी थिई, उसलाई समेत मैले खान नदिएकोमा अहिले मन पोलेर आउँछ।’ अहिले पनि माइली छोरीको अनुहार देख्नेबित्तिकै मंगलीका आँखा रसाउँछन्। ‘जन्मेर ५८ वर्षकी हुँदासम्म दलित भएकै कारण सयौंपटक विभेद र अपमान सहियो तर तीन दशकअघिको त्यो दिन कहिल्यै बिर्सन सक्दिनँ,’ उनले सुनाइन्।

इलाम नगरपालिका–५, बरबोटेस्थित रामजानकी मन्दिरले आइतबार दोसल्ला ओढाएर सम्मान गर्दा मंगलीका आँखामा त्यही विगत झल्झली नाच्यो। मन्दिरको आँगनमै आयोजित समारोहमा मंगली र उनका पति हर्कबहादुरले समाजका प्रतिष्ठित भद्रभलादमीबाट दोसल्ला र सम्मान पाए। दुवैको हृदय भरिएर आयो। वर्षाैंको पीडा एकैचोटि पानीले पखालिएझैं भयो। ‘आजको दिन जीवनकै सबैभन्दा खुसीको दिन भयो हाम्रा लागि,’ मंगलीले हर्षका आँसु भरिएका आँखा पुछ्दै भनिन्, ‘जन्मेको आधा शताब्दीपछि आजमात्रै हामी पनि मान्छेमा गनियौं भन्ने अनुभूति भएको छ।’ सम्मान पाएर हर्षित मंगली माइकमा बजिरहेको भजनमा छमछमी नाचिन् पनि। 

मन्दिरको आँगनमै आयोजित समारोहमा मंगली र उनका पति हर्कबहादुरले समाजका प्रतिष्ठित भद्रभलादमीबाट दोसल्ला र सम्मान पाए। दुवैको हृदय भरिएर आयो। वर्षाैंको पीडा एकैचोटि पानीले पखालिएझैं भयो।

पाँचथरको नवमीडाँडामा ५७ वर्षअघि जन्मिएका हुन् मंगलीका पति हर्कबहादुर। उनलाई बाल्यकालदेखि नै डोको र नाम्लोले छाडेन। बाबु–बाजेले गरिल्याएको आरन (फलामका हतियार बनाउने) को काम त गर्नैप¥यो, अर्काको भारी बोकेर टाढाटाढासम्म पुग्नुपथ्र्याे। ‘शरीरको क्षमताभन्दा गह्रौं भारी बोकेका बेला माथिल्लो कहलिएका जातिका मान्छे आए जदौ (नमस्कार) गरिहाल्नुपथ्र्याे, कुवामा अरू सबैले भरिसकेपछि मात्र पानी भर्न पाइन्थ्यो,’ मन्दिरलाई विशेष योगदान गरेबापत सम्मानित भएपछि उनले भने, ‘आजको दिन आउला भनेर जीवनभर सोचेको थिइनँ। समयसँगै सामाजिक व्यवहार पनि परिवर्तन हुनेरहेछ । हाम्रो पनि दिन फर्किंदोरहेछ ।’ 

हर्क र मंगलीको बाल्यकाल अभावैअभाव र सामाजिक विभेदको चरम सिकार भएर बित्यो। पाँचथरकै लुङरुपा गाउँमा जन्मिएकी मंगली र हर्क समाजको जातीय विभेदसँग परिचित थिए । माथिल्लो भनिने जातका मानिसको घरमा खान–पिउन त दिन्थे तर आँगन वा पिँढीमा बसालेर। घरभित्र पस्न नपाइने। ‘दूध, दही, मही दलितलाई दिए बस्तुभाउ रुख चढ्छन्’ भन्ने रुढीवादी संस्कारका कारण दलित समुदायले कहिल्यै अन्य जातिको घरमा ती परिकार पाएनन्। ‘अन्य जातिकहाँ खाना खाएपछि खाएको ठाउँ गोबरले लोटाएर (चोख्याएर) मात्र हिँड्नुपथ्र्याे,’ हर्क भन्छन्, ‘जीवनमा पहिलोपटक पाएको सम्मान यही हो, हामीलाई यी पनि मान्छे नै हुन् भन्ने समाज पनि रहेछ । मान्छे भएर जीउन पाएको अनुभव भएको छ।’

मन्दिरका लागि हर्क र मंगलीमात्र होइन, गाउँका करिब ३५ दलित परिवारले यथासक्य आर्थिक र भौतिक सहयोग गरेका छन्। हर्क र मंगलीको परिवारले मन्दिरलाई अहिलेसम्म २५ हजार रुपैयाँ सहयोग गरेको छ। त्यतिमात्र होइन, उनीहरू मन्दिरका हरेक समारोहमा आउँछन्, पूजापाठ गर्छन्। मन्दिरले कुनै पनि जातिलाई विभेद गरेको छैन। ‘हामी यो मन्दिर निर्माण हुँदैदेखि सबै समुदाय सँगै छौं, मन्दिरमा कसैले अहिलेसम्म कुनै काममा अवरोध र विभेद गरेको छैन,’ हर्कले सुनाए, ‘यो मन्दिर आउँदा ज्यादै आनन्द लाग्छ, जातिका नाममा यहाँ कुनै फरकपन छैन, सबैलाई समान व्यवहार गरिन्छ।’

बिब्ल्याँटे बजारमा सुन व्यवसाय गरिरहेका हर्क–मंगली दम्पतीले मन्दिरका लागि योगदान गरेकाले उनीहरूलाई सम्मान गरिएको मन्दिरको सञ्चालक सरस्वती सत्संग समाजका कोषाध्यक्ष टीकाप्रसाद भण्डारीले बताए। ‘मान्छेका जाति जुनसुकै भए पनि हामी सबैलाई समान व्यवहार गरिरहेका छौं,’ उनले भने, ‘हर्क–मंगली दम्पतीले मन्दिरका लागि हरतरहले सहयोग गर्नुभएको छ, केही वर्षअघिसम्म समाजमा दलित समुदायलाई मन्दिरमा पस्न दिन नहुने अमानवीय रुढीवाद थियो, अब त्यस्तो व्यवहार हटोस् । समाजमा सबै मिलेर समान रूपमा बस्न पाइयोस्।’ जातीय आधारमा कोही पनि तलमाथि हुँदैन भन्ने उदाहरण आफूहरूले देखाउन खोजेको उनले बताए।

हर्कले कानुनले जातीय छुवाछूत अन्त्य गरे पनि व्यवहारमा अहिले पनि सुधारको आवश्यकता औंल्याए। ‘कानुनले त विभेद गर्नेलाई सजायसमेत तोकेको छ तर कहींकतै व्यवहारमा अहिले पनि जातीय विभेद कायमै छ,’ उनले भने, ‘पहिलाको तुलनामा निकै सुधार आएकाले हामी खुसी छौं तर अझै पनि त्यस्तो व्यवहारमा सुधार गर्नु आवश्यक छ।’

प्रकाशित: १२ चैत्र २०७४ ०३:२४ सोमबार