बझाङ- काँडा गाउँपालिकाको फाया खाद्य सुरक्षाका दृष्टिले जोखिम गाउँ हो। साँझ बिहानको छाक टार्न मुस्किल पर्ने फायामा भने मदिरा जताजतै पाउँछ।
दुर्गम गाउँमा चामल प्रतिकेजी एक सय ५० रुपैयाँ पर्ने गरेको छ भने मदिरा ५० रुपैयाँ बोत्तल पाइन्छ। व्यापारीले पनि चामल भन्दा मदिरामा बढी फाइदा हुने भएकाले पसलमा मदिरा राख्ने गरेका छन्। गाउँका पसलमा चामल नपाउँदा स्थानीयलाई चार दिनको पैदल हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ। ‘भरीयाद्वारा चामल बोकाएर गाउँसम्म पुर्याउँदा घाटा लाग्ने भएकाले गाउँमा चामल पाइँदैन,’ एक संस्थाको अनुगमनमा फाया पुगेका चक्र रोकायाले भने। गाउँमा पाहुना लाग्दा खाना कसैले दिँदैनन् तर मदिरा भने पिउन दिने गरेको उनी बताउँछन्। ‘गाउँमा चामलै नपाउँदा यस्तो समस्या आएको हो,’ उनले भने । गाउँमा खाद्यान्न उत्पादन नहुँदा घरमा अन्न मैजात नभएरै पाहुनालाई एक छाक खुवाउन समेत नसक्ने गरेको स्थानीय धनसिंह बोहराले बताए। उनले भने,‘तर, गाउँका पसलमा चामलको साटो घरेलुदेखि विदेशी रक्सीसम्म राखेकाले मदिरा भने पाइने गरेको छ।’
गाउँमा मकै, कोदो, जौँ, फापर र आलु बाहेक अन्य अन्न उत्पादन हुँदैन । काँडा गाउँपालिकाको निउना, बलोडी, फाया गाउँमा सधैँ खाद्य संकट हुन्छ । यहाँ लगाएको खेतीले दुई महिना पनि खान पुग्दैन ।
अन्य समय भन्दा चैतमा भोकमरी सिर्जना हुने गरेको बताउँदै उनले भने,‘वैशाख जेठमा त जौँ पाकिसकेका हुन्छन्। तर, चैतमा केही हुँदैन ।’ खाद्यान्न ढुवानी गर्न अप्ठ्यारो हुने भएकाले स्थानीय खाद्यान्नको व्यापार गर्दैनन् । वरिष्ठ कृषि विकास अधिकृत राजेश केसीले खेतीयोग्य जमिनको अभाव र भिरालो जमिनसँगै सिँचाइ नहुने भएकाले आकासे पानीमा उब्जनी कम हुँदा त्यहाँ भोकमरी हुने गरेको बताए।
प्रकाशित: ११ चैत्र २०७४ १०:३९ आइतबार