समाज

निर्वतमान वडाध्यक्ष आत्महत्या प्रकरण: अनुसन्धानको दायरा फराकिलो बनाउँदै प्रहरी

राजापुर नगरपालिका–१ का निर्वतमान अध्यक्ष खुसीराम चौधरीको आत्महत्या प्रकरणमा प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको छ।

उजुरीको आधारमा अनुसन्धानको दायरा फराकिलो पारेर त्रुटिरहित अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा भिडियो वक्तव्य सार्वजनिक गरेर राजापुर नगरपालिका–१ का निर्वतमान अध्यक्ष चौधरीले सोमबार आत्महत्या गरेका थिए।

आत्महत्या गर्नुअघि उनले सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियोमा बैङ्क वा वित्तीय संस्थामा सावाव्याज बुझाउन कर्मचारीको दबाब थेग्न नसक्दा आत्महत्याको बाटो रोजेको उल्लेख छ।

बैङ्कका कर्मचारीले आफ्नो आत्मसम्मानमा ठेस पुर्‍याएकाले कानुनी कारबाहीको माग गर्दै उनले न्यायका लागि अदालतसम्म पुग्न आफन्तलाई आग्रह गरेका छन्।

कसले भिडियो खिच्यो, कसले पोष्ट गर्‍याे भन्नेबारे प्रहरीले अनुसन्धान भइरहेको बताएको छ।

मृतक चौधरीका आफन्तले राजापुर कार्यालयमा उजुरी दर्ता गरिसकेका छन्। प्रहरी प्रमुख प्रविण धितालले भिडियोमा नाम लिएका व्यक्तिसँग सोधपुछ हुने जानकारी दिए।

बैङ्क कर्मचारीको असल नियतले कर्जा उठाउन खोजेको देखिए थुनामा राखेर अनुसन्धान गर्न नमिल्ने उनको भनाइ छ।

प्रकाशित: २६ वैशाख २०८१ १९:१७ बुधबार