समाज

उपनिर्वाचनको दिन इलाममा सवारी साधन नचल्ने

इलाम क्षेत्र-२ मा उपनिर्वाचन हुने दिन वैशाख १५ गते मेची राजमार्गसहित जिल्लाभरको यातायात बन्द गरिने भएको छ।

जिल्लामा आज (बिहीबार) बसेको सर्वपक्षीय/सर्वदलीय बैठकले क्षेत्र-२ मा मात्र उपनिर्वाचन भएपनि जिल्लाभर सवारीका साधन बन्द गर्ने निर्णय गरेको हो। यसबाट पाँचथर, ताप्लेजुङ र झापासमेत प्रभावित हुने भएका छन्।

निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै त्यस दिन बिहान ५ देखि साँझ ६ बजेसम्म अनुमति लिएका र अत्यावश्यकबाहेक सबै खाले सवारी साधन बन्द गर्ने निर्णय भएको सिडिओ इन्द्रदेव यादवले जानकारी दिए। ‘पाँचथर, झापा र ताप्लेजुङलाई पनि निर्णयबारे जानकारी दिइनेछ,’ उनले भने।

मतदान गर्न मतदान केन्द्रसम्म पुग्न नसक्नेहरूका लागि निर्वाचन आचारसंहितामा उल्लेख भएबमोजिम सवारी साधनको अनुमति दिइने उनको भनाइ छ।

‘आचारसंहितामा उल्लेख भएअनुसार असक्तका लागि सम्बन्धित मतदान अधिकृतबाटै सवारी साधनको अनुमति दिइनेछ,’ सिडिओ यादवले भने, ‘निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र स्वतन्त्र बनाउन निर्वाचनको दिन निर्वाचन हुने क्षेत्र मात्र नभई जिल्लाभर सवारीका साधन बन्द गराउन सर्वपक्षीय सुझाव आएपछि त्यसैअनुसार निर्णय भएको छ।’ 

प्रकाशित: १३ वैशाख २०८१ १५:५६ बिहीबार