समाज

भूमिपीडितकी प्रिय

जग्गा पुर्खौंदेखि आफूले कमाइरहेको तर जति सङ्घर्ष गर्दा पनि त्यसको स्वामित्व भने हात पर्न धौधौ। जिल्लाका यस्तै वास्तविक किसानलाई उक्त जग्गाधनी पुर्जा दिलाउन नेतृत्व गरिन् सुष्मा न्यौपानेले।

उनीलगायतको नेतृत्वमा भएको सङ्घर्षपछि बिर्ता जग्गाको १५२ वटा धनी पुर्जा तयार भयो। जसलाई करिब पाँच सय परिवारले मिलेर बाँडिखाएका छन् यतिबेला।

बिर्ता मात्र होइन, गुठीको जमिन कमाइरहेका हाकुका १३१ परिवारको पनि मोही धनी पुर्जा बनाउने कार्यको नेतृत्व गरिन् उनैले। अनि दोस्रो व्यक्तिले नक्कली जग्गा धनी पुर्जा बनाएर बैंकमा धितो राखी लिलामको अवस्थामा पुगेको भोर्लेका १७ परिवारको जमिन पनि फिर्ता गराउन सफल भइन्।

त्यति मात्र पनि होइन, श्रीमान्को स्वामित्वमा रहेको जमिनमा श्रीमतीको समेत बराबर हक लाग्ने गरी करिब ८०० जोडीको संयुक्त लालपुर्जा बनाउने कार्यको पनि नेतृत्व गरिन्।

पिताजी भवानीप्रसाद न्यौपाने भूमि अधिकारबाट वञ्चितहरूको अधिकारका लागि लडेको देखेपछि सानैदेखि सुष्मामा पनि यस्तो अन्यायविरुद्ध लड्नुपर्ने चेत पलायो। त्यसपछि एसएलसी पास भएदेखि नै जागिरको खोजीमा लाग्नु सट्टा यस्तै अन्यायमा परेकाहरूको घाउमा मलम लगाउन अघि सरिन्।

पढाइलाई निरन्तरता दिँदै भूमिहीन र भूमिपीडितका आन्दोलनहरूको अग्रमोर्चा सम्हालिरहिन्। यस्तो कार्यले पैसा र सम्पत्ति नदिए पनि सन्तुष्टि भने पर्याप्त दिएको उनको प्रतिक्रिया छ। भन्छिन्–त्यसैले त आजसम्म पनि भूमि अधिकारबाट वञ्चितहरूलाई अधिकार दिलाउने लडाइँमा उत्तिकै सक्रिय छु।

 

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

 

प्रकाशित: २५ फाल्गुन २०८० ११:११ शुक्रबार

भूमिपीडितकाे प्रिय