समाज

बालिका गर्भवती बनाउने एक ज्येष्ठ नागरिकलाई १२ वर्ष कैद, पाँच लाख जरिवाना

१३ वर्षीया बालिका करणी गरी गर्भवती बनाउने एक ज्येष्ठ नागरिकलाई १२ वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २० हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला गरिएको छ।

इलाम जिल्ला अदालतले माङ्सेबुङ गाउँपालिका– २ का ६९ बर्से दिलबहादुर बोखिम राईलाई यस्तो फैसला सुनाएको हो। दिलबहादुरसहित अन्य दुईजनाले बालिकामाथि पटकपटक करणी गरेको भन्दै २०७९ वैशाख र जेठमा प्रहरीमा बेग्लाबेग्लै जाहेरी परेका थिए।

घटनाबारे २०७९ साउन १९ मा अदालतमा छुट्टाछुट्टै मुद्दाको अभियोग दर्ता भएको थियो। त्यसपछि ०७९ असार २९ मा इलाम अस्पतालले पीडित बालिकाको गर्भ रहेको पुुष्टि गरेको थियो। गर्भवती बालिका, गर्भपतन गराइएको शिशु र दिलबहादुरको डियोक्सिराइबो न्युक्लिक एसिड (डिएनए) विधि विज्ञान प्रयोगशालामा परीक्षण गराउँदा मिलेको रिपोर्ट आएको अदालतले जनाएको छ।

अदालतले गत १५ गते दिलबहादुरको कसुर ठहर गरेको थियो। फैसलापछि दिलबहादुरलाई कारागार चलान गरिएको छ। घटनाका थप दुई आरोपीले भने बालिकामाथि करणी गरेको पुुष्टि नभएपछि सफाइ पाएका छन्।

प्रकाशित: २३ फाल्गुन २०८० १९:१९ बुधबार

बालिका करणी गर्भवती ज्येष्ठ नागरिक जरिवाना पीडित राहत कोष इलाम जिल्ला अदालत