समाज

अब मुख्यसचिव को?

प्रधानमन्त्री पुष्पकमल दाहालले टेरामक्स खरिदलगायत प्रकरणमा मुछिएका मुख्यसचिव वैकुण्ठ अर्याललाई बिदामा बस्न निर्देशन दिइसकेका छन्। ‘प्रधानमन्त्रीले आइतबार बिहान मुख्यसचिवलाई बिदामा बस्न निर्देशन दिएका हुन्,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो। प्रधानमन्त्रीले बिदामा बस्न भने पनि मुख्यसचिव अर्याल आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमै थिए।

नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छानबिन गरी आरोपितउपर मुद्दा चलाउने तयारी गरेको छ। यस विषयमा अख्तियारले अर्याललगायतसँग बयान लिइसकेको छ। नेपाल टेलिकमको ‘बिलिङ सिस्टम’ खरिद घोटालामा पनि अर्यालको संलग्नता देखिएको भन्दै आयोगले अनुसन्धान थालेको छ।

मुख्यसचिव अर्याल बिदामा बसे मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयभित्रकै सबैभन्दा वरिष्ठ सचिव स्वतः निमित्त मुख्यसचिव हुने व्यवस्था कानुनमा छ। अहिले प्रधानमन्त्री कार्यालयमा एकनारायण अर्याल, अर्जुन पोखरेल, लिलादेवी गडतौला, सरजुकमार वैद्य, गणेश पाण्डे सचिवका रूपमा कार्यरत छन्। त्यस्तै सचिवको विशेष दरबन्दीमा खगेन्द्र नेपाल छन्। प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिवमध्ये एकनारायण सबैभन्दा वरिष्ठ हुन्। त्यसैले मुख्यसचि वैकुण्ठ बिदामा बसे एकनारायण स्वतः निमित्त मुख्यसचिव हुनेछन्।

कायममुकायम (कामु) मुख्यसचिव नियुक्त गर्न भने मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ। कामु मुख्यसचिव भने प्रधानमन्त्री कार्यालयका सचिवमध्येबाटै नियुक्त गर्नुपर्छ भन्ने छैन। अन्य मन्त्रालयका सचिवलाई पनि मन्त्रिपरिषद्ले कामु मुख्यसचिवको जिम्मेवारी दिन सक्छ। कामु मुख्यसचिवले मुख्यसचिवसरह नै अधिकार प्रयोग गर्न पाउँछन्।

वर्तमान मुख्यसचिव वैकुण्ठले राजीनामा दिएमा अथवा उनलाई सरकारले हटाएमा स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, श्रम मन्त्रालयका सचिव केबल भण्डारी, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीमध्येबाट एक मुख्यसचिव बन्ने अवस्था छ।

सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूमध्ये वरिष्ठताका आधारमा पहिलो नम्बरमा गुरागाईं, दोस्रोमा भण्डारी, तेस्रोमा अधिकारी र चौथोमा योजना आयोगका तोयानारायण ज्ञवाली छन्। सचिव गुरागाईंको सेवाअवधि फागुन २६ गते, भण्डारीको सेवाअवधि चैत ११ गते र अधिकारीको सेवाअवधि वैशाख १७ गते सकिँदै छ।

मुख्यसचिव शंकरदास बैरागीको तीनवर्षे कार्यकाल सकिन साढे ३ महिना बाँकी छँदै सरकारले गत असारमा उनलाई राजीनामा गर्न लगाएको थियो। त्यसपछि रिक्त मुख्यसचिवमा वैकुण्ठलाई लगिको हो। सचिवका रूपमा बैकुण्ठको पाँचवर्षे कार्यकाल गत असार ३ गते सकिँदै थियो। 

सचिवको कार्यकाल सकिनुभन्दा ३ दिनअघि उनलाई मुख्यसचिवमा बढुवा गरिएको थियो। मुख्यसचिवमा बढुवा नभएको भए उनी असारमै सेवानिवृत्त हुन्थे। सुरक्षा परिषद् सल्लाहकार बनाउने सर्तमा बैरागीलाई मुख्यसचिवबाट राजीनामा गर्न लगाइएको थियो। मुख्यसचिवको कार्यकाल तीन वर्षको हुन्छ। तीन वर्ष पूरा नहुँदै ५८ वर्ष पुगे सेवाबाट अवकाश पाउने व्यवस्था निजामती सेवा ऐन, २०४९ मा छ।  

पूरा कार्यकाल पूरा नगरी मुख्यसचिव पदबाट राजीनामा गर्ने परम्परा तत्कालीन मुख्यसचिव सोमलाल सुवदीले सुरु गरेका थिए। एक वर्ष कार्यकाल बाँकी छँदै उनी एसियाली विकास बैक (एडिबी) को वैकल्पिक सल्लाहकारमा जागिर खान फिलिपिन्स गएका थिए। सेवाबाट राजीनामा नदिईकन उनी एडिबीको जागिर खान गएका थिए।

उनले आफ्नो विषयमा आफैं निर्णय गरी आफूलाई अतिरिक्त समूहमा राखेका थिए। उनको स्वनिर्णयलाई तत्कालीन सरकारले मान्यता दिएन। त्यसपछि उनले २०७४ साउन २२ गते सरकारी सेवाबाट राजीनामा दिएका थिए। सुवेदीपछि राजेन्द्रकिशोर क्षेत्री मुख्यसचिव भए। उनी चार महिनाजति मुख्यसचिवको जिम्मेवारीमा बसे।

५८ वर्ष उमेरहदका कारण क्षेत्रीले २०७४ कात्तिक ६ गते अनिवार्य अवकाश पाए। त्यसपछि लोकदर्शन रेग्मी मुख्यसचिव भए। सरकारले रेग्मीलाई पनि पूरा कार्यकाल काम गर्न नदिएर राजीनामा गर्न लगायो। रेग्मीपछि शंकदरदास बैरागी मुख्यसचिव बनेका थिए। रेग्मीलाई राजीनामा गर्न नलगाइएको भए उनले २०७७ कात्तिक ६ गतेसम्म काम गर्न पाउँथे।

त्यसबेला सचिव पदमा कार्यरत बैरागीले २०७७ असोज २२ गते सेवाबाट अवकाश पाउँथे। बैरागीलाई मुख्यसचिव बनाउन तत्कालीन सरकारले कार्यकाल सकिनुअगावै रेग्मीलाई मुख्यसचिवबाट राजीनामा दिन लगाएको हो। त्यसबापत उनलाई बेलायतको राजदूत बनाइयो। रेग्मी पूरा कार्यकाल मुख्यसचिव भएका भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसुधन अधिकारीमध्येबाट एकजना मुख्यसचिव हुन्थे ।

प्रकाशित: २१ फाल्गुन २०८० ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App