समाज

यस्तो छ इलाम क्षेत्र २ उपनिर्वाचन कार्यतालिका

आगामी वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४ लाई तोकिएकोे छ।

निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकासन र उम्मेदवारलाई चुनाव चिह्न वितरणको कार्यक्रम चैत २७ गतेलाई राखिएको छ। आयोगका अनुसार चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुने छ भने फागुन २४ देखि ३० सम्मको म्याद दिई राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिने छ।    

चैत २२ गते मुख्य निर्वाचन अधिकृत नियुक्त गरी त्यसै दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै छ। चैत २८ देखि वैशाख १२ प्रचारको अवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदान समय तोकिएको छ।  

वैशाख १५ गते इलाम क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ। संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: १९ फाल्गुन २०८० १०:०६ शनिबार

उपनिर्वाचन कार्यतालिका इलाम क्षेत्र २ वैशाख १५