समाज

धेरै सन्तान जन्माउन नगरको प्रोत्साहन !

इलाम बजार । तस्बिर : नागरिक

इलाम – जनसंख्या बढी भए गरिबी, भोकमरी, अशिक्षाजस्ता दर्जनौं कठिनाई हुने गरेको त हामी सबैले सुनेकै हौं । तर, जसले धेरै सन्तान जन्माउँछ, उसलाई बढी सुविधा दिने ‘अफर’ इलाम नगरपालिकाले ल्याएको छ । 

जनसंख्या वृद्धिदर कम भएर ‘चिन्ता’मा परेको नगरपालिकाले चैत १ (बिहीबार) देखि लागू हुनेगरी बढी सन्तान जन्माउने प्रसूतिलाई नै बढी सेवा–सुविधा दिने कार्यक्रम लागू गर्दैछ। केही दिनअघि बसेको नगर कार्यपालिका बैठकले साविकको प्रसूति पोषण सुविधा परिमार्जन गर्दै जति धेरै सन्तान, उति बढी पोषण सुविधा दिन निर्णय गरेको थियो, त्यो पनि नगदमै। 

सुत्केरीलाई २ वटासम्म बच्चा जन्माए २ हजार, ३ बच्चा जन्माए ३ हजार र ५ वटा तथा त्यसभन्दा बढी संख्यामा बच्चा जन्माए ५ हजार रुपैयाँ दिने निर्णय नगरले गरेको छ । २० वर्षअघि नगरपालिकाले नगरका प्रसूति महिलालाई नगद नभई घिउ, कपडा, ज्वानोलगायत दिने निर्णय गरी कार्यान्वयनमा ल्याएको थियो । अब भने प्रसूति महिलाले नगद नै पाउने छन् । प्रत्येक बच्चा जन्मिँदा सुत्केरी महिलाका पतिलाई हरेक पटक १५ दिन कामबाट बिदा दिने, बच्चा जन्माउन सहज गराउने उद्देश्यले नगर क्षेत्रभित्र जागिर वा नोकरीमा रहेका पति–पत्नीलाई अलग स्थानमा भए एकैठाउँ सरुवा मिलाइदिनेसम्मको निर्णय नगरपालिकाले गरेको हो। 

नगरपालिकाका मेयर महेश बस्नेतले नगरको जनसंख्या वृद्धिदर ज्यादै कम भएकाले दम्पतीलाई सन्तानोत्पादनमा प्रोत्साह गर्न लागिएको बताए । ‘हरेक राजनीतिक विभाजनमा जनसंख्या र भूगोललाई आधार बनाउने गरिएको छ,’ उनले भने, ‘अबको समय परम्परागतखालको छैन, जति धेरै जनसंख्या छ, त्यस क्षेत्रको राजनीतिक सहभागिता उति नै बढी हुन्छ अहिले ।’ मेयर बस्नेतले स्थानीय तह विभाजन, जिल्लामा निर्वाचन क्षेत्र निर्धारणलगायत सबै पक्षमा जनसंख्यालाई पहिलो आधार बनाइएकाले बढी जनसंख्या आवश्यक भएको बताए। 

उनले इलाम नगरपालिकामा वर्षमा १ सय र इलाम जिल्लाभर वर्षमा ३ हजार मात्रै जनसंख्या बढ्नु चिन्ताको विषय भएको बताए । ‘दर्जनौं सामुदायिक विद्यालय र क्याम्पसमा विद्यार्थी संख्या नपुगेर बन्द हुने अवस्था छ, देशले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको छ,’ उनले भने, ‘तर, खोइ त्यस्तो आयोजना सम्पन्न गर्न चाहिने इन्जिनियर, मजदुर र कामदार?’ उनले जनसंख्या बढाउनु होइन, घटाउनुपर्छ भन्ने योजना अब पुरानो भइसकेको भन्दै सबैखाले सुविधा अब जनसंख्यालाई नै आधार मानेर मात्रै पाउने समय आएको बताए। 

सन् २०११ मा साविकको इलाम नगरपालिकाको जनसंख्या १८ हजार ६ सय ३३ रहेकामा सन् २०१५ मा १९ हजार ७ सय १२ पुगेको नगरपालिकाले जनाएको छ। स्थानीय तह पुनर्संरचनापछि इलाम नगरपालिकामा जोडिएको वडा १ (साखेजुङ)मा  सन् २०११ मा ४ हजार ४५ जनसंख्या रहेकामा सन् २०१५ सम्ममा ४ हजार १ सय ५९ पुगेको छ । वडा २ सुम्बेकमा २५ सय ६३ रहेकामा २५ सय ६४, वडा ३ पुवामझुवामा २९सय २८ रहेकामा २८ सय ९४, वडा ४ मा ४३ सय ४८ रहेकामा ४३ सय १२, वडा ५ मा ६४ सय २५ रहेकामा ४ वर्षपछि ६६ सय ६२ जनसंख्या पुगेको नगरपालिकाले जनाएको छ। 

वडा १० गोदकमा सन् ०११ मा ४९ सय ७८ जनसंख्या रहेकामा सन् ०१५ मा ५१ सय २९, वडा ११ मा ३३ सय ३४ रहेकामा ३३ सय ५ र वडा १२ मा ५६ सय ७९ रहेकामा ४ वर्षपछि ५७ सय ५६ जनसंख्या रहेको मेयर बस्नेतले बताए। इलाम नगरपालिकाले आउँदो २० वर्षभित्र नगरपालिकालाई उपमहानगर बनाउने लक्ष्यसमेत राखेकाले यहाँ २ लाख जनसंख्या आवश्यक हुन्छ। अहिले नगरको जनसंख्या ४८ हजार हाराहारी मात्रै भएकाले पनि यो लक्ष्य भेट्न नगरलाई अझै डेढ लाख जनसंख्या आवश्यक छ। 

तर, केही दशकयता राष्ट्रिय जनसंख्या वृद्धिदर नै ओरालो लागेकाले श्रमशक्ति, राजनीतिक र प्रशासनिक सुगमतासमेतमा असर पुग्नसक्ने मेयर बस्नेतको भनाइ छ। ‘जनसंख्या वृद्धि गर्नुहुँदैन भन्ने पुरानो बुझाइ गलत सावित हुँदैछ,’ उनले भने, ‘जहाँ जनसंख्या बढी हुन्छ, सर्वसाधारणले पाउने सेवा–सुविधा त्यसै केन्द्रित हुँदैछ।’

व्यस्त जीवनशैली र सुविधाभोगी व्यक्तिको संख्या बढेकाले सन्तान कम जन्माउँदा जनसंख्या कम भएको नगरपालिको जनाएको छ । इलाम नगरपालिकाको उत्तरी क्षेत्रमा जनसंख्या कम हुँदैछ । सहरी क्षेत्रमा केही बसोबास बढे पनि तराईतिर बसाइँ सर्ने क्रम बढेकाले नगरपालिकालाई जनसंख्या घट्ने चिन्ता छ । ‘मानिसको आयु बढ्दो छ,’ बस्नेतको तर्क छ, ‘अब पनि जनसंख्या नबढाउने हो भने केही समयपछि इलाम वृद्धवृद्धाको मात्रै सहर बन्नेछ।’

प्रकाशित: १ चैत्र २०७४ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App