समाज

तिलौराकोटलाई विश्व सम्पदा सुचीमा दर्ता गर्न अन्तिम मनोनयन

सन १९९६ देखि नै सम्भावित सुचीमा रहेको प्राचीन कपिलवस्तु स्थित बुद्धको क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक तथा संस्कृति सङ्गठन युनेस्कोमा मनोनयन गरिएको छ। 
प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटलाई  विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्ताबेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको हो। फ्रान्सका लागि नेपाली राजदूत एवं यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधिर भट्टराईले युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई बुधबार औपचारिक रूपमा मनोनयन दस्ताबेज पेस गरेका हुन्। 
 
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि रणनीतिक मनोनयन दस्ताबेज तयार गर्ने विज्ञहरूको समूहमा अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा.डंकन मार्सलको नेतृत्वमा सम्पदा विशेषज्ञ प्रो. डा. रविन कनिङघम, डा. मार्क म्यानुअल, प्रोफेसर योकियो निशिमुरा, प्रो. म्याक्स डिग, डा. क्रिस्टोफ डेविस, डा. काई वाइजे, पुरातत्त्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, प्रा.डा. राजेश राई, डा. इनु प्रधान, सृष्टिना श्रेष्ठ, यनि जोशी, पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर गुरूङ, निर्देशक समितिका सदस्य सचिव एवं लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई, वरिष्ठ पुरातत्त्व अधिकृत हिमाल कुमार उप्रेती, बसन्त विंडारी लगायत सहभागी थिए। गत सेप्टेम्बरमा टोलीले युनेस्कोमा पहिलो चरणको मनोनयन दर्ता गरेको थियो।
 
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले गत बुधवार  फ्रान्सको राजधानी पेरिस स्थित विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा तयार पारिएको दस्ताबेज पेस गरिएको बताए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्ताबेज पेस हुनु  देश कै ठुलो उपलब्धि भएको बताए। उनले लामो सयम देखिको सपना सार्थक हुनु लागेको बताए। तिलौराकोटमा एक दशक बढी समय देखि त्यसकालागि जापानको जापानीज फन्ड ईन ट्रस्ट पुरातत्त्व विभाग, बेलायतको दुर्हम विश्व विद्यालय सहितको विज्ञ टोलीले उत्खनन अध्ययन अनुसन्धान गरिरहेको छ। त्यसैकालागि २ वर्ष अघि तिलौराकोटलाई संरक्षित क्षेत्र समेत घोषणा गरिएको थियो।
 
विश्व सम्पदा सुचीमा सुचीकृतका लागि त्यस क्षेत्रमा जग्गा अधिग्रहण कार्यलाई समेत तीव्र बनाइएको छ। ‘लामो समयदेखि गरेको कामले सार्थकता पाउनु हाम्रो लागि मात्रै होइन सम्पदाप्रेमि सबैका लागि खुसीको कुरा हो’ शाक्यले भने। तिलौराकोट सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी सहित कोषका तर्फबाट आवश्यक प्रक्रिया सुरु भएको उनले बताए। यूनेस्को जापानीज फन्ड इन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि तिलौराकोटमा अध्ययन अनुसन्धान जारी छ। सो उत्खननबाट तिलौराकोट बुद्धकालीन समय भन्दा ३ सय वर्ष अघि देखि नै त्यहाँ मानव सभ्यता र बस्तीहरू रहेको प्रमाणहरू फेला परेका छन्। टोलीले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरू जुटाएको थियो।
 
तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा निर्देशक समिति समेत समेत गठन गरिएको थियो। उक्त समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष रहने व्यवस्था छ। सरकारले २०७८/७९ को नीति तथा कार्यक्रममार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखेको थियो। विश्व सम्पदा समितिको ४५ औँ बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम गरिएको थियो। अन्तिम मनोनयन दस्ताबेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पेस भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा केन्द्रमा दर्ताका लागि विधिवत् रूपमा प्रक्रिया अगाडि बढेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक राईले जानकारी दिए।  
 
युनेस्कोको मुल्यांकन समितिले सन २०२४ भित्र अध्ययन अनुसन्धान गरे पछि दिएको प्रतिवेदन पछि बल्ल तिलौराकोट सुचीकृत हुने वा नहुने निश्चित हुनेछ। सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक पर्ने प्रमाण र आधारहरू अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरूले रणनीतिक दस्ताबेजमा सामेल गरिसकेको छ। यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल तिलौराकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राखेको थियो। नेपालका काठमाडौँ लुम्बिनी सगरमाथा, चितवन राष्ट्रिय निकुञ्ज मात्र विश्व सम्पदामा सुचीकृत छन्। 

प्रकाशित: २१ माघ २०८० १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App