नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-३ की खिमादेवी उपाध्यायले यस वर्ष आफ्नो बारीमा तरुल खेती गरिन्। विगतका वर्षमा तरुल खेती देखिने उनको बारीमा यस वर्ष कोदो खेती गरिन्।
‘बारीमा लगाएको तरुल बँदेल आएर सबै खाइदिन्छ’, उनले भनिन्, ‘उत्पादन भएको तरुल बिक्री गर्ने त परको कुरा हो, आफूले खानसमेत पाइँदैन, त्यसैले तरुल लगाउनै छाडेँ।’
उनका अनुसार गत वर्ष करिब सात कठ्ठा जमिनमा लगाइएको तरुल सबै बँदेलले खाइदियो। ‘बँदेलले तरुल खाएपछि वडा तथा मध्यवर्तीमा गुनासो गरेको थिएँ‘, उनले भनिन्, ‘बारीको लालपुर्जा आएको छैन, त्यसैले वन्यजन्तुका कारण हुने क्षतिको राहत पाइनँ।’
करिब ४० वर्षदेखि आफू यस ठाउँमा बस्दै आएको उल्लेख गर्दै उपाध्यायले जग्गाको पटकपटक नापी भए पनि लालपुर्जा नपाउँदा बारीमा जंगली जनावरले पुर्याएको क्षतिको राहत नपाएको गुनासो गरिन्।
‘सरकारले हामीलाई लालपुर्जा पनि दिँदैन, हाम्रो गाउँमा वन्यजन्तु आएर बाली नष्ट गर्दा क्षतिपूर्ति पाइँदैन‘, उनले भनिन्, ‘हाम्रो गाउँमा मेरो बारीको वरिपरि रहेका अन्य बारीको लालपुर्जा छ, तर मेरो छैन।’ उनले गाउँमा रहेका आधाभन्दा बढी जग्गाको लालपुर्जा नभएको बताइन्।
मध्यविन्दु-३ कै नन्दे गुरुङ अहिले व्यावसायिक तरकारी खेतीतर्फ लागेका छन्। उनले विगतका वर्षमा यस समयमा मकै लगाउने गरेको जनाउँदै बँदेलका कारण मकै भित्र्याउन नपाएपछि अहिले खेती परिवर्तन गरेको बताए।
‘मैले यसपटक बर्खामा पनि मकैखेती गरिनँ‘, उनले भने, ‘मकैको हारी पस्न (घोगा लाग्न) सुरु भएपछि बारीमा बँदेल पसेर सबै मकैमा क्षति पुर्याउने गर्छ‘, उनले भने, ‘रातिमा जङ्गली जनावर आएर बारीमा पस्ने भएकाले खेती कुर्नुभन्दा खेती नै परिवर्तन गरेँ।’
गुरुङले अहिले आफ्नो करिब एक बिघा जमिनमा टमाटर, काँक्रा, करेला, काउलीलगायत तरकारी खेती गरेका छन्। ‘जग्गाको लालपुर्जा पाएको छैन’, उनले भने, ‘लालपुर्जा नभएको जग्गामा वन्यजन्तु आएर गरेको क्षतिको राहत पनि नपाइने रहेछ, त्यसैले वन्यजन्तुले कम क्षति पु¥याउने खेती गर्न सुरु गरेको हो।’
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस गाउँसँगै मध्यवर्तीका धेरै बासिन्दाले आफ्नो अन्नबालीमा वन्यजन्तुले क्षति पुर्याउँदा राहत पाउन सकेका छैनन्। चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले धेरै किसानले अन्नबालीमा वन्यजन्तुले क्षति पुर्याएको गुनासो गर्ने गरेको भए पनि सबैलाई राहत उपलब्ध गराउन नसकिएको बताए।
‘लालपुर्जा भएको जग्गामा गरिएको खेतीमा वन्यजन्तुले क्षति पुर्याएमा राहत दिन मिल्छ‘, उनले भने, ‘तर लालपुर्जा नभएको जग्गामा वन्यजन्तुले क्षति पुर्याएको अवस्थामा राहत दिन नमिल्ने कानुनी व्यवस्था छ।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ उपदफा ‘क’ का आधारमा निर्माण गरिएको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका– २०८०’ मा कस्ता वन्यजन्तुले धनजनको क्षति पुर्याएमा राहत प्रदान गर्न मिल्ने भनेर उल्लेख गरिएको तिवारीले बताए।
निर्देशिकाको अनुसूची १ मा वन्यजन्तुले पुर्याएको क्षतिबापत पाउने राहतको विवरण उल्लेख गरिएको भए पनि अनुसूची २ ले लालपुर्जा नहुने जग्गामा गरिएको खेतीमा राहत पाउनबाट वञ्चित गरेको तिवारीले बताए।
वन्यजन्तुबाट भएको क्षतिको राहत रकम प्राप्त गर्न पेस गर्नुपर्ने कागजात तथा प्रमाणको बुँदा नम्बर ९ ले वन्यजन्तुबाट भएको क्षतिको राहत रकम लिनका लागि ‘घर-जग्गाधनी पुर्जा’ पेस गनुपर्ने भनी उल्लेख गरेको तिवारीको भनाइ छ।
‘मध्यवर्तीका धेरै किसानले लगाएको बाली वन्यजन्तुले क्षति पुर्याएको हामीले पनि देख्ने गरेका छौँ’, उनले भने, ‘लालपुर्जा नभएको जग्गामा वन्यजन्तुले पुर्याएको क्षतिको राहत दिने भनेर कानुनले नभनेका कारण पीडित किसान क्षतिपूर्ति पाउनबाट वञ्चित हुनुपरेको छ।’ –रासस
प्रकाशित: १३ माघ २०८० ०७:४४ शनिबार