समाज

सदरमुकाम आन्दोलन : दुनै दोस्रो दिन पनि बन्द

दुनै (डोल्पा) – डोल्पा सदरमुकाम दुनै शुक्रबार पूर्णरुपमा बन्द रह्यो। दुनै कायम गरिएको ठुलीभेरी नगरपालिको केन्द्र जुफाल सारिएको विरोधमा सदरमुकामवासी आन्दोलमा उत्रिदा दोस्रो दिन पनि दुनै बजार बन्द भएको हो।

नगरपालिको केन्द्र दुनैमा नै कायमहुनु पर्ने माग गर्दै बिहिबारदेखि बिरोध प्रदर्शन जारी रहेको संयुक्त संघर्ष समितिका अध्यक्ष हिक्मत शाहीले बताए। नगर प्रमुख  गणेश बहादुर शाही र कार्यकारी अधिकृत गोविन्द सुनारको मिलेमतोमा केन्द्र जुफालमा सारिएकाले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन्।

नगरप्रमुख शाहीले भने ०७४ अषाढ ३१ को पहिलो नगरसभाले गरेको सर्वम्मत निर्णय बमोजिम नै केन्द्र सारिएको बताएका छन्। जुफालबाट सदरमुकाम दुनैमा केन्द्र फिर्ता नगरिएसम्म आन्दोलन जारी रहने संघर्ष समितिले जनाएकोे छ।

आन्दोलनका क्रममा हुनसक्ने मुडभेडलाई मध्य नजर गर्दै सुरक्षा ब्यबस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरी प्रसाद शर्माले बताए। आन्दोलन चर्किदै जानथालेपछि शुक्रबार जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको छ।

शान्तिपूर्ण बिरोध जुलुस गर्न पाउनु प्रजातान्त्रिक अधिकार भएको तर आन्दोलनलाई उच्छृङ्खल बनाए प्रहरी मुखदर्शक नबन्ने शर्माले बताए।

प्रकाशित: १८ फाल्गुन २०७४ १४:०४ शुक्रबार

सदरमुकाम आन्दोलन दुनै दोस्रो