समाज

माग पुरा नभएको भन्दै चमेलियामा आमरण अनसन

दार्चुला – आफ्ना मागहरु पुरा नभएको भन्दै शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारीलका स्थानीय चमेलिया जलविद्युतको विद्युत गृह नजिक बिहिबारबाट आमरण अनसनमा बसेका छन्। चमेलिया जलविद्युत आयोजनाले निर्माण कार्य सुरु गरेदेखि नै आफुहरुसंग गरेका प्रतिबद्धता पुरा नगरेको भन्दै उनिहरु आमरण अनसन बसेका हुन्। आफूहरुका माग पुरा नगरेको भन्दै उनीहरु खानेपानी मूल संर्घष समिति गठन गरेर आमरण अनसनमा बसेका हुन्।

आयोजनाले आफुहरुका जायज मागलाई कुनै वास्ता नगरेका कारण आमरण अनसन बस्नु परेको खानेपानी मूल संर्घष समितिका सचिव सुरेन्द्र तितराले बताए। आफुहरुका माग सम्बोधन नभए अनसन नतोड्ने उनिहरुले चेतावनी समेत दिएका छन्। 

सर्घष समितिका अध्यक्ष शंकर खडायत, सचिव सुरन्द्र तितरा तथा समितिका सल्लाहकार सदस्य परमानन्द खडायत आमरण अनसनमा बसेका छन्। चमेलिया विद्युत गृहको सुरक्षा र काममा बाधा नपर्ने गरी स्थानिय प्रशासन सुरक्षा निकायमा जानकारी गराई आफुहरुले वडा नम्बर एकको नवनिर्मित भवनको प्रांगणबाट अनसन सुरु गरेको समितिका अध्यक्ष शंकर खडायतले बताए। 

सघर्ष समितिले आयोजना निर्माणका क्रममा सुकेका खानेपानी र सिंचाईको स्थायी र दीर्घकालिन समाधान गर्नु पर्ने, आयोजनाबाट प्रत्यक्ष रुपमा विस्थापित शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र बैतडीको डिलाशैनी गाउँपालिका भरीमा निःशुल्क विद्युतको व्यवस्था गर्नु पर्ने, चालु आर्थिक वर्ष भित्र दार्चुला र बैतडी जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्नुपर्ने माग राखेको छ। यस्तै बाँध स्थलदेखी टेलरेससम्म चमेलियामा पानी छोड्नु पर्ने, आयोजना निर्माणका क्रममा भएको भ्रष्टाचारको छानविन गरी दोसी माथि कारवाही गर्नुपर्ने, र स्थानियसँग आयोजनाले गरेका सम्झौता तत्काल कार्यान्वयन गर्नु पर्ने माग राखेका छन्। फागुन ११ गते सर्घष समितिले एक अपिल जारी गर्दै आयोजनासँग उक्त मागहरु राखेको थियो ।

प्रकाशित: १७ फाल्गुन २०७४ १४:३३ बिहीबार

माग पुरा नभएको भन्दै चमेलियामा आमरण अनसन