समाज

अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ

बर्दिवास – महोत्तरी जिल्लाको बर्दिवासमा एक जना अप्राकृतिक मैथुन गरेको आरोपमा आइतबार पक्राउ परेका छन्। 

बर्दिवास नगरपालिका–१ का करीब ४० वर्षीय अच्युतम रिसाललाई जिल्लाकै गौशाला नपाको लक्ष्मीनियाँका ११ वर्षीय बालकमाथि यौनजन्य अप्राकृतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो। 

बर्दिवास नगरपालिकाको बाल सञ्जालले आर्थिक लेनदेनका बलमा बालयौन दुराचारको घटना मिलाउन लागिएको प्रयासलाई विफल बनाउँदा रिसाललाई पक्राउ गरिएको इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए। पीडकले पीडितलाई धम्की दिएर समाजको पञ्चायत (छलफल)बाट रु ५१ हजार दिएर घटना ढाकछोप गर्न लागेका थिए।

पीडक रिसालले आफ्नै ठाउँमा मिल्न दबाब दिँदै दुईचार जना बसेर निर्णय गराउँदै रु ५१ हजार दिन आएको पीडित बालकका पिताले बताएका छन्। यही फागुन पहिलो सातामै राति रिसालले बालकमाथि यौनजन्य क्रियाकलाप गरेको आरोप छ। 

प्रकाशित: १३ फाल्गुन २०७४ ०९:४६ आइतबार

अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ