समाज

औषधि खानै डराउँछन् संक्रमित

माेरङ पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार रार्इ शनिबार नगरमा हात्तीपाइले राेगविरूद्धकाे अाैषधि सेवन गरेर अाैषधि सेवन अभिनयाकाे उद्घाटन गर्दै । तस्बिर :रासस

इलाम – संक्रमितले औषधि खान डराएकै कारण अधिकांश जिल्लामा फाइलेरिया (हात्तीपाइले) रोगको जोखिम बढेको छ । करिब दुई दशकसम्म औषधि वितरण गरे पनि ‘दीर्घरोगीले औषधि खाए असर गर्छ’ भन्ने भ्रमले खानै डराउँदा हात्तीपाइले रोगको खतरा पुनः देखिएको हो । 

सरकारले सन् २००१ देखि नै हात्तीपाइले रोगको औषधि निःशुल्क खुवाउने अभियान नै चलाइरहेको छ । तर, अझै देशको २ करोड ६४ लाख जनसंख्यामध्ये अढाई करोड व्यक्तिमा हात्तीपाइलेको जोखिम कायमै रहेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जहाँ बढी जनसंख्या छ, त्यहाँ हात्तीपाइलेका रोगीको संख्या बढी देखिएको छ। 

ज्वरो, मलेरिया, म्यानेनजाइटिस र हात्तीपाइले रोग लामखुट्टेका माध्यमबाट सर्ने भएकाले लामखुट्टेबाट जोगिनु नै रोगबाट बच्ने उपाय हो । क्युलेक्स जातको पोथी लामखुट्टेले टोकेमा हात्तीपाइले रोग लाग्ने चिकित्सकको भनाइ छ । 

देशका ६१ जिल्ला हात्तीपाइले रोग प्रभावित छन् । ६१ मध्ये २४ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान चलिरहेको छ । बर्सेनि नियमित औषधि वितरण गरिरहे पनि बिरामीको संख्या र नयाँ रोगीको संख्या बढ्ने जोखिम थपिएको छ । सन् २०२० सम्ममा हात्तीपाइलेका रोगीको संख्या १ प्रतिशतमा झार्ने लक्ष्य रहे पनि पुनः यसको जोखिम थपिँदै जानुले निःशुलक औषधि सेवनको प्रभावकारितामा चुनौती देखिएको  छ। 

इलाममा ६ वर्षदेखि हात्तीपाइलेको औषधि नियमित विरतण भइरहे पनि फेरि यसको जोखिम देखिएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले दीर्घरोगीमा हात्तीपाइलेको औषधि सेवन गर्नुहुँदैन भन्ने भ्रमसमेत देखिएकाले ६ वर्षसम्म यसको जोखिम कायमै रहेको बताए । ‘अबको पुस्ताले यस्तो भ्रम चिर्न चेतना जगाउन सकेमात्रै हात्तीपाइले नियन्त्रण हुने देखिन्छ,’ मल्लले भने।

चिकित्सकका अनुसार सिकिस्त बिरामीबाहेक दीर्घरोगी (कडारोगी) ले पनि हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्न हुन्छ । तर, धेरै व्यक्तिमा दीर्घरोगीले यो औषधि सेवन गर्न हुँदैन भन्ने बुझाइ रहेको जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालको अनुभव छ । बरालले आफूले पनि मधुमेहका कारण अहिलेसम्म यो औषधि सेवन नगरेको बताए । ‘मधुमेहका बिरामीले हात्तीपाइलेको औषधि खान मिल्दैन होला भनेर मैले आजसम्म खाएको थिइनँ,’ हात्तीपाइले रोगविरुद्धको औषधि खाएर अभियान उद्घाटन गर्दै बरालले आफ्नै अनुभव सुनाए, ‘मेरो बुझाइ गलत रहेछ, इलाममा यो औषधि वितरण गरेको ५ वर्ष बित्दा पनि चेतना आएनछ । मलाई जस्तो भ्रम धेरै सर्वसाधारणलाई अहिले पनि छ ।’ 

२ वर्षमाथि र ७० वर्षभन्दा कम उमेरका सबै नागरिकले हात्तीपाइलेविरुद्धको औषधि खान हुन्छ । ‘७ दिनभन्दा कमकी सुत्केरी, प्यारालाइसिस भएका, मिर्गौंलाले काम गर्न छोडेका, मुटुको भल्व फेरेका, मिर्गौंला प्रत्यारोपण तथा डायलाइसिस गर्दै गरेका सिकिस्त बिरामीबाहेक सबैले यो औषधि सेवन गर्न सक्छन्,’ जिल्ला जनस्वास्थ्य प्रमुख मल्लले भने, ‘औषधि सेवन गर्दा शरीरमा भएका हात्तीपाइलेका किटाणु मर्छन् । औषधि नखाए  लामखुट्टेले टोकेपछि यो रोग सर्छ र त्यसको भयानक असर १२–१५ वर्षपछि देखिन सक्छ ।’ 

समयमा स्वास्थ्यबारे ध्यान नदिँदा हात्तीपाइलेको असर भयानक बनिरहेको छ । महाशाखाले एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त गरेको तथ्यांकअनुसार हिमाल र उच्च पहाडका १५ जिल्लामा भने हात्तीपाइलेको असर देखिएको छैन । ज्वरो, मलेरिया, म्यानेनजाइटिस र हात्तीपाइले रोग लामखुट्टेका माध्यमबाट सर्ने भएकाले लामखुट्टेबाट जोगिनु नै रोगबाट बच्ने उपाय हो । क्युलेक्स जातको पोथी लामखुट्टेले टोकेमा हात्तीपाइले रोग लाग्ने चिकित्सकको भनाइ छ। 

खुट्टा सुन्निएर ठूलो भएमात्र हात्तीपाइले रोग लागेको बुझाइ सर्वसाधारणमा छ । तर, चिकित्सकका अनुसार यो रोगको अन्तिम अवस्थामा मात्रै खुट्टा सुन्निछ । फिक्कलस्थित प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक कुशल बस्ती भन्छन्, ‘हात–खट्टामा नीला–राता धर्सा आउने, पिसाब सेतो हुने, महिलाको योनी र स्तन सुन्निने हात्तीपाइले रोगका लक्षण हुन् । यो रोग शरीरमा धेरै फैलिएपछि मात्र खुट्टा सुन्निने देखिन्छ ।’ लामखुट्टेले टोकेपछि मानिसको शरीरमा उचेरिया बाँक्रोफटी परजीवी ९० प्रतिशत र ब्रुजिया मालायी १० प्रतिशत सर्ने गर्छ । ब्रुजिया टिमोरी परजीवी पनि मानव शरीरमा सर्ने चिकित्सक बताउँछन्।   

हात्तीपाइलेकै कारण हाइड्रोसिल हुन्छ । नेपालमा ३० हजार व्यक्तिमा हाइड्रोसिलको मुख्य समस्या देखिएको महाशाखाले जनाएको छ । ४ सय वर्ष पुरानो मानिएको हात्तीपाइाले रोगलाई सन् १९९७ मा सम्पन्न विश्व स्वास्थ्य संघको ५०औं महासभाले सन् २०२० सम्ममा निवारण गर्ने लक्ष्य राखेको हो । सन् २००० मा सुरु हात्तीपाइलेविरुद्धको अभियानबाट यसअघि जापान, दक्षिण कोरिया, माल्दिप्स, श्रीलंकालगायत ३२ देशमा उन्मूलन भएको छ । तर, विश्वका ८० देशका १ अर्ब ४० करोड व्यक्ति अहिले पनि हात्तीपाइलेको खतरामा रहेको तथ्यांक छ । १२ करोड जनसंख्या हात्तीपाइलेबाट संक्रमित छ । अढाई करोडमा हाइड्रोसिल र डेढ करोड व्यक्तिमा हात्तीपाइलेको लक्षण देखिएको तथ्यांक छ। 

इलाममा ६ वर्षसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको थियो । तर, सबैले औषधि सेवन नगरेका कारण पुनः २ वर्ष औषधि खुवाउनुपर्ने भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरमाइजर विमल बरालले बताए । फागुन १२ मा जिल्लाभर हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदैछ ।  ‘२ लाख ६६ हजार ८ सय जनालाई यो अभियानमा औषधि खुवाइँदैछ,’ बरालले भने, ‘२ लाख ९३ हजार ५ सय ट्याब्लेट अल्बेन्डाजोल र ६ लाख ६७ हजार १ सय हाराहारी ‘डिइसी’ औषधि आवश्यक भएको छ।’ 

प्रकाशित: १३ फाल्गुन २०७४ ०४:०५ आइतबार

औषधि खानै डराउँछन् संक्रमित