समाज

पुनर्बहाली माग राखेर कर्मचारी अनशनमा

रौतहट – नेपाल विद्युत् प्राधिकरण, गौर वितरण केन्द्रले सेवामुक्त गरेका दैनिक ज्यालादारीका कर्मचारीहरू पुनर्बहालीको माग गर्दै बिहीबारदेखि कार्यालय परिसरभित्रै आमरण अनशनमा बसेका छन् । जिल्लाभरिका विभिन्न पदमा कार्यरत १९ जना कर्मचारीलाई एकैपटक प्राधिकरणको गौर वितरण केन्द्रले सेवामुक्त गरेको थियो।

प्राधिकरणको गौर वितरण केन्द्रले मिटर रिडर, अनियमितता फाँट, प्रशासन र फ्युज शाखामा कार्यरत १९ कर्मचारीलाई गत माघ २९ गते माथिबाट आदेश आएको भन्दै पदमुक्त गरेको थियो । पीडित कर्मचारीले सेवाबाट नहटाउन विभिन्न निकायसमक्ष पटकपटक माग गरे पनि कुनै वास्ता नहुँदा आमरण अनसनमा बस्नुपरेको अनशनमा सहभागी दीपेन्द्र श्रीवास्तवले बताए । ‘केही वर्षयता नियमित रूपमा कामकाज गर्दै आए पनि नियतवस मसहित १९ कर्मचारीलाई माथिको आदेशानुसार सेवामुक्त गरिएको भनी कार्यालयले सूचना दिएको छ,’ उनले भने । कार्यालय प्रमुखले आफूनजिकका कर्मचारीलाई पूर्ववत् सेवामा बहाल राखी आफूहरूमाथि अन्यायपूर्ण व्यवहार गरेको हुँदा आन्दोलन गर्नुपरेको श्रीवास्तवको भनाइ छ।

विद्युत प्राधिकरण, गौर वितरण केन्द्रका प्रमुख उमेश यादवले २०७४ साल वैशाख महिनामा अनाधिकृत रूपमा ज्यालादारीमा बहाली गरिएका कर्मचारी हटाउने केन्द्रीय कार्यालयको नीतिगत निर्देशन तत्काल कार्यान्वयन गर्न क्षेत्रीय कार्यालयबाट आएको पत्रका आधारमा ती कर्मचारीलाई सेवामुक्त गरिएको जानकारी दिए । 

प्रकाशित: ११ फाल्गुन २०७४ ०६:२४ शुक्रबार

पुनर्बहाली माग राखेर कर्मचारी अनशनमा