समाज

मिटर ब्याज असुल्ने वित्तिय संस्थाका संचालक पक्राउ

काठमाडौ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गैरकानुनी रुपमा करोडौ  कारोबार गर्ने पाँच वित्तिय संस्थाका संचालकलाई पक्राउ गरेको छ।

सिआइबीले नेपाल राष्ट्रबैंक र सहकारी विभागबाट अनुमति नलिई प्रदेश नम्बर १ को सुनसरी र मोरङमा सञ्चालनमा रहेका वित्तिय संस्थाका संचालकलाई आइतबार पक्राउ गरेको हो । आफूलाई प्राप्त कानुनी दायरा विपरित स्थानीय जनतासँग बचत संकलन तथा ऋण प्रवाह गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। सिआइबीले १ नम्बर प्रदेश क्षेत्रिय अनुसन्धान टोलीको संयुक्त कारबाहीमा गैर कानुनी रुपमा वित्तिय कारोबार गर्ने आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आपन ईन्भेष्टमेन्ट प्रालि इटहररी सुनसरीका भीम प्रसाद चौधरी, तथा श्याम पेशकार थारु रहेका छन् । उनीहरुको साथबाट, नगद भरपाई रसिद, खाली रसिद, बचत पासबुक, भरेको ऋण माग फाराम, सिपियु लगायतका सामग्री तथा  स्थानीयबाट अवैध रुपमा संकलन गरेको दुई करोड ३९ लाख, ४७ हजार ६६० रुपैयाँ नगद बरामद गरिएको छ । 

त्यस्तै हलेसी इन्भेष्टमेन्ट प्रालि धरान, सुनसरीका चन्द्र बहादुर विक तथा अनिता विक पक्राउ परेका छन् । उनीहरुको साथबाट पनि खाली पासबुक, भरिएको पासबुक, दैनिक बचत रजिष्टर, ब्लुप्रिन्ट नक्सा, धितो राखिएको जग्गा धनी पुर्जा लगायतका सामग्री तथा अवैध रुपमा संकलन गरिएको छ करोड ९९ लाख, ७३७ रुपैयाँ बरामद गरिएको सिआइबीले जनाएको छ।

चौतारी इन्भेष्टमेन्ट प्रालि बिराटनगर मोरङका सञ्चालक राजु साह पक्राउ परेका छन् । उक्त कम्पनीबाट विभिन्न महत्वपूर्ण कागजातसहित आठ लाख ६१ हजार दुई सय ७४ रुपैयाँ बरामद भएको छ । त्यस्तै इटहरीको मन्सुन इन्भेष्टमेन्ट प्रालिका सञ्चालक सुनिल गुरागाई तथा  इटहरीकै छिन्ताङ इन्भेष्टमेन्ट प्रालिका सञ्चालकहरु डिल्ली प्रसाद आचार्य र प्रकाश आचार्य पनि पक्राउ परेका छन् । सिआइबीले मन्सुन इन्भेष्टमेन्टबाट विभिन्न महत्वपूर्ण कागजात सहित ५० लाख नगद फेला पारेको छ भने छिन्ताङले भर्खरै बचत संकलन सुरु गरेकाले कागजातमात्र फेला पारेको छ । 

सिआइबीको प्रारम्भीक अनुसन्धानबाट कारबाहीमा परेका इन्भेष्टमेन्ट कम्पनीले उद्देश्य विपरित काम गरेको पाइएको छ । ती कम्पनीले राष्ट्र बैंक र सहकारी विभागको स्वीकृति नलिई अवैधानिक रुपमा बचत संकलन तथा ऋण प्रवाह गरेको पाइएको सिआइबीले जनाएको छ।

त्यस्तै बैंक तथा सहकारीको ब्याज भन्दा बढी ब्याज दिने प्रलोभन देखाई बचत संकलन गरेको र २४ प्रतिशत भन्दा बढी ब्याज असुल गरी ऋण प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ । इन्भेष्टमेन्ट कम्पनीहरुले स्थायी रुपमा कार्यालय नराखी आफ्नो अनुकुल झोलाबाटै कार्यालय सञ्चालन गरेको पाइएको सिआइबीले जनाएको छ।

ती कम्पनीले हालसम्म  अवैधानिक रुपमा नौ करोड ९७ लाख ८९ हजार छ सय ७१ रुपैयाँ संकलन गरेको र विगो रकम अझै बढ्न सक्ने सिआइबीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन ०७३ विपरित काम गरेको कसुरमा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

 

 

 

 

प्रकाशित: ७ फाल्गुन २०७४ ११:५८ सोमबार

मिटर ब्याज असुल्ने वित्तिय संस्थाका संचालक पक्राउ