समाज

महामारीमा थलिएका महिला उद्यमीलाई उठाउने प्रयासमा छौं: अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले कोरोना महामारीमा थलिएका महिला उद्यमी व्यवसायीलाई पुन: जीवित पार्न निरन्तर प्रयास गरिरहेको बताएकी छन्।

दिदीबहिनीको एकल प्रयासले व्यवसायी बन्न सम्भव नभएकाले राज्यले सहयोग अपरिहार्य रहेको उनले बताएकी हुन्।

महिलाले नेतृत्व गरेका व्यावसायिक कार्यहरूको विपद उत्थानशीलता सम्बन्धी सोमबार राजापुरमा आयोजित समापन कार्यक्रममा अध्यक्ष ज्ञवालीले सम्बोधन गर्दे महिला व्यावसायिक बनेर आयआर्जनका लागि आर्थिक अभाव नै मुख्य चुरो कुरो रहेको बताइन्।

आठ महिना अघिदेखि विपदले समस्याग्रस्त बनाएका महिला उद्यमलाई प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप राजापुर १ काम सुरु गरिएको उनले जानकारी दिइन्।

‘महिला उद्यमी महासंघले देशभरिका दिदीबहिनीको हकहित संरक्षणको  वकालत समेत गरिरहेको छ’ उनले भनिन्, ‘ग्रामीण भेगमा महिला उद्यमीले तयार पारेका वस्तुको बजारीकरण  गर्न अन्तराष्ट्रियस्तरको संघले महोत्सव आयोजना बर्सेनि गर्ने गरेको छ।’

महिला उद्यमी महासंघले महामारीमा शिथिल भएका होमस्टे व्यावसायिक महिला उद्यमीको व्यावसायलाई उठाउन गरिएको प्रयास सराहनीय भएको नगर प्रमुख दिपेश थारुले बताए।

‘इच्छा शक्ति भएका महिला उद्यमीलाई व्यावसायमा ढाल्नुपर्ने हुन्छ ’नगर प्रमख थारुले भने,‘तालिम मात्र लिने तर काम नर्गन खोज्ने मात्र धेरै छन्।’

राजापुर नगरपालिकाले संघको साझेदारीमा महिला उद्यमलाई उकास्न हातेमालो गर्ने नगर प्रमुख थारुले प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा संघकी उपाध्यक्ष वसन्ती प्रधान, वडा नं १ का अध्यक्ष बाबुराम चौधरी र वडानं २ का अध्यक्ष रामचन्द्र चौधरीले व्यावसायिक रूपमा सफल व्यवसाय बन्न महिला उद्यमि सक्रिय देखिएको बताएका थिए। महिला उद्यमीलाई सक्रिय पार्न गरिएको विपद् उत्थानशीलता कार्यक्रमको विषयमा कार्यक्रममा सहभागी उद्यमी, जनप्रनिधि र स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका छन्।

प्रकाशित: २४ पुस २०८० ०३:०३ मंगलबार

कोरोना महामारी महिला उद्यमी व्यसाय महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली