समाज

१२ बर्षिया बालिका बलात्कृत, प्रहरी मिलेमतोमा अभियुक्त फरार

रौतहट- बालिका बलात्कार पछि  घटनास्थलबाटै पक्राउ परेका अभियुक्तलाई प्रहरीको मिलेमतोमा भगाइएको छ। चार दिनअघि भएको घटनालाई गुपचुप मै मिलाउन स्थानीय प्रहरी सक्रिय रहेको खुलासा भएको छ।

गत मंगलवार राति ८ बजे रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ कि १२ वर्षिया बालिकालाई गरुडा नगरपालिका ९ का २० वर्षिय शेख इब्रानले उखु बारिमा लगी जवरजस्ति करणी गर्दा बालिका चिच्याए पछि स्थानीले इब्रानलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी बरियारपुरका असई गणेश लामाको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको थियो।

बलात्कारको शिकार भएकी बालिकालाई प्रहरीले राति नै उनकी आमाको जिम्मा लगाए र युवकलाई नियन्त्रणमा लिएर इप्रका गरुडाको जिम्मा लगाएपछि प्रहरीले उपचारको बहानामा अभियुक्त लाई छाडेको आरोप पीडित परिवारले लगाएका छन्।

उखुबारीबाट निकालेपछि प्रहरीकै सामु बालिकाकी आमाले युवकलाई टर्चलाईटले हिर्काएकी थिइन्। युवक घाइते अवस्थामा फेला परेको प्रहरीको दाबी छ। पक्राउ परेपछि गाउँका दर्जनौँ मानिसले युवकमाथि आक्रमण गर्न खोजेको तर प्रहरीले सम्झाइ बुझाइ गरेर भीडबाट युवकलाई प्रहरी चौकीमा ल्याउन सफल भएका थिए।

राजनीतिक चलखेलका आधारमा चौकी कम्पाउण्ड भित्र ५ ट्रेक्टर माटो पुर्न लगाएर प्रहरीले छाडेको आरोप पीडित पक्षको छ। बलात्कारको शिकार बनेकी बालिकाको काका उजुरी लिएर इलाका प्रहरी कार्यालय गरुडामा जाँदा उजुरी दर्ता गर्न नमानेको उल्टै बरियारपुर प्रहरी चौकीमा पीडक पक्षद्धारा ज्यान मार्ने र लुटपिटको उजुरी दर्ता गराउँदा बलात्कारमाथि थप बलात्कार भएको गम्हरियाका समजसेवी एवं नेपाली काँग्रेसका स्थानीय नेता शेख ग्यासुद्दिनले आरोप लगाए। गढीमाई नगरपालिकाको मेयर श्याम यादवको प्रयासबाट बिहीवार साँझ पीडित पक्षको उजुरी इप्रका गरुडामा लिएर पीडित बालिकाको स्वास्थ्य परीक्षण गराउन प्रहरीले जिल्ला अस्पताल गौर लगेको स्गानीय ग्यासुद्दिनले बताए।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले केटा केटीको पहिलादेखी नै प्रेम प्रसँग रहेकोले दुवै जनालाई नियन्त्रणमा लिएको बेला कसैले पनि बलात्कार भएको घटनाको विषयमा जानकारी नगराएको र पछि केटाको टाउको फुटेकोले उपचारको लागि छोडिको बताए। केटा पक्षले उजुरी दिएपछि बल्ल केटी पक्षले बलात्कारको घटना भएको भनी उजुरी दिन आएको बताउँदै थापाले त्यसपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएका छन्।

पीडित पक्षबाट जाहेरी आएपछि बलात्कारको अभियोग लागेको युवक फरार भएका छन्। प्रहरीले इब्रानको खोजी भइरहेको बताएको छ ।

पीडित पक्षको जाहेरी आउनासाथ प्रहरीले जबरजस्ती करणी ऐन अन्तर्गत मुदा दर्ता गरी घटनाको अनुसन्धान थालेको छ। रौतहट प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बालिका बलात्कृतको खवर प्राप्त हुनासाथ पीडितको स्वास्थ्य परीक्षण गराइएको तथा यस सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिसकेको तथा आफू स्वंय त्यस घटनाप्रति गम्भीर भएर लागि परेको बताए।

प्रकाशित: ४ फाल्गुन २०७४ ११:३९ शुक्रबार

१२ बर्षिया बालिका बलात्कृत प्रहरी मिलेमतोमा अभियुक्त फरार