समाज

सर्लाहीकाे बरहथबामा पुन: कर्फ्यु

प्रहरीको गोलीबाट सर्लाही बरहथबा-६ का जयशंकर साहको मृत्युपछि अवस्था नियन्त्रणमा लिन स्थानीय प्रशासनले पुन: कर्फ्यु लगाएको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले आइतबार १२: ४५ बजेदेखि सोमबार बिहान ८ बजेसम्म पुनः कर्फ्यु थपेको हो। 

सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुने अवस्थालाई मध्य नजर गर्दै कर्फ्यु अवधि लम्बाइएको सर्लाहीका सिडिओ कोमल धमलाले बताए।

शुक्रबारदेखि मृतक साहको शव सडकमै राखेर प्रदर्शन जारी छ। शुक्रबार बेलुका साढे ५ बजेदेखि कर्फ्यु जारी रहेको प्रजिअ धमलाले बताए।

कुनै पनि किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा एवं गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा चोर्निया पुलसम्म निषेधाज्ञा जारी गरिएको उनले बताए।

प्रकाशित: २२ पुस २०८० ०७:२७ आइतबार

सर्लाही बरहथबा-६