समाज

ज्यान मार्ने धम्की दिने ३ जना पक्राउ

युवतीलाई फोनमार्फत धम्की दिएको आरोपमा सिन्धुपाल्चोकबाट पक्राउ परेका युवक । नगेन्द्र उपाध्याय / नागरिक

सुर्खेत – युवतीलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिन्धुपोल्चोकबाट ३ जनालाई पक्राउ गरेको छ । सुर्खेत क्याम्पस (शिक्षा) मा अध्ययनरत युवतीलाई २ महिनायता फोन गरेर अस्लील गाली गर्ने, ज्यान मार्ने धम्की दिने, परिवारलाई गाली गर्ने गरेको आरोपमा जाजरकोटका ३ जना युवालाई सिन्धुपाल्चोकको मेलम्चीबाट पक्राउ गरिएको हो।

प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार युवतीको उजुरीका आधारमा भेरी नगरपालिका–७ का २२ वर्षीय चन्द्रबहादुर विक, हरिबहादुर बुढा र त्रिवेणी नलगाड नगरपालिका–१० का २६ वर्षीय रमेश रावतलाई पक्राउ गरिएको हो।

‘युवतीलाई धम्की दिने सिम कार्डहरुको अनुसन्धान गर्दै जाँदा तीनै जनालाई  मेलम्ची नगरपालिका–४ सिन्धुपाल्चोकबाट पक्राउ गरेका हौं’ उनले भने, ‘अब उनिहरुलाई सार्वनजिक अपराध अन्र्तगत मुद्धा चलाउने तयारीमा छौं।’ 

फोनबाट निरन्तर धम्की आउन थालेपछि युवती क्याम्पस जान पनि छोडेकी थिइन् । ‘प्राय विहान कलेज जाने बेला र रातिको समयमा फोन आउँथ्यो’ ति युवतीले भनिन्, ‘निरन्तरको धम्कीका कारण एक महिनादेखि क्याम्पस जान छोडेकी थिएँ।’

 

प्रकाशित: १९ माघ २०७४ ०७:४५ शुक्रबार

ज्यान मार्ने धम्की दिने जना पक्राउ