समाज

नाबालिग बलात्कारको आरोपमा पक्राउ प्रअ र शिक्षकमाथि थप अनुसन्धान

नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा आइतबार काभ्रेमा पक्राउ परेका प्रधानाध्यापक र शिक्षकमाथि थप अनुसन्धानको  प्रक्रिया अगाडि बढेको छ।

पाँचखाल नगरपालिका–६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरुङ र विज्ञान शिक्षक मच्छेनारायण श्रेष्ठ आइतबार बलात्कारको आरोपमा पक्राउ परेका हुन्।

उनीहरूले कक्षा ९ मा पढ्ने एक छात्रामाथि बलात्कार गरेको आरोपमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक अनिलकुमार बैठाले जानकारी दिए।

‘पक्राउ परेकामाथि थप अनुसन्धान सुरु भएको छ,’ बैठाले भने, ‘बयान लिने प्रमाण जुटाउन लगायतका काममा  लागेका छौँ।’

विज्ञान शिक्षक श्रेष्ठले दसैँ तिहारको बिचको बिदामा बालिकालाई ललाइफकाइ बनेपा लगेर बलात्कार गरेको खुलेको छ। त्यसपछि विद्यालयका प्रधानाध्यापकसहित अन्य शिक्षकहरूले पनि बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक मेसेज पठाउने गरेको भेटिएको छ। 

पीडित पक्षले दुवै शिक्षकविरुद्ध आइतबार नै जाहेरी दिएको र सोही अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढेको काभ्रेका  डिएसपी राजकुमार श्रेष्ठले नागरिकन्यूजलाई जानकारी दिए।

प्रकाशित: ९ पुस २०८० ०३:३१ सोमबार

नाबालिग छात्रा बलात्कार काभ्रे पक्राउ प्रधानाध्यापक शिक्षक पाँचखाल नगरपालिका जोरपाटी माध्यमिक विद्यालय