समाज

बुढेसकालको साथी 'रेडियो'

इलामको रोङ गाउँपाकिलाका ज्येष्ठ नागरिकलाई रेडियो वितरण गरिँदै। तस्बिर : नागरिक

ज्येष्ठ नागरिकलाई समय सदुपयोग गर्ने उपाय खोजी गर्दै इलामको रोङ गाउँपालिकाले रेडियो वितरण गरिरहेको छ।

घरमै बसेर देशविदेशका समाचार, सूचना र मनोरञ्जनका लागि ज्यष्ेठ नागरिकलाई सुविधा पुगोस् भन्ने उद्देश्यले रेडियो वितरण गरिरहेको गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवासले जानकारी दिए।

पालिकाले चालु आर्थिक वर्षको कार्यक्रममै समावेश गरी रेडियो वितरण गरिरहेको हो। यसैक्रममा गाउँपालिकाको वडा ५, इरौंटारमा सञ्चालन गरिएको शिविरमा पनि रेडियो वितरण गरियो। पालिकाले एक सय ६० जनालाई रेडियो वितरण गरेको अध्यक्ष स्याङ्बोले बताए। ‘एक हजार एक सय रेडियो वितरण गर्ने हाम्रो लक्ष्य छ’, उनले भने, ‘यसअघि पनि वितरण गरिएको छ, अब केही बाँकी छ।’

पालिकाले ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई रेडियो वितरण गर्दैछ। ‘कतिपय निरक्षर ज्येष्ठ नागरिकले पनि रेडियो सुनेर देश–विदेशका नयाँ खबर थाहा पाउन सक्ने सुविधा दिन खोजिएको हो,’ उनले भने, ‘दृष्टि कमजोर हुँदा पनि रेडियो सुन्न सकिन्छ, घरको काम गर्दैगर्दा पनि रेडियो सुन्न सहज हुने भएकाले यो कार्यक्रम ल्याइएको छ।’

घरमा बस्दा ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्ने साथीभाइ नहुने, एक्लो महसुस हुने भएकाले रेडियो उनीहरूको साथी बन्ने गरेको उपाध्यक्ष विष्णुमाया भुजेलले बताइन्। ‘लामो समय कोही एक्लै बस्छ भने उसमा विभिन्न मानसिक समस्यासमेत देखिने गरेको पाइन्छ’, उनले भने, ‘कमसेकम रेडियो साथमा भयो भने साथीको काम गर्छ, एक्लोपन महसुस हुनबाट बचाउँछ।’

गाउँघरमा ज्येष्ठ नागरिक प्रायः घरमा एक्लो हुँदैछन्। उमेर पुगेका धेरै युवा वैदेशिक रोजगारीमा गएकाले घरमा प्रायः ज्येष्ठ नागरिक र बालबालिकामात्रै बस्छन्। बालबालिका पनि विद्यालय जाने र उमेर हुनेहरू कमाइ गर्न जाने भएपछि ज्येष्ठ नागरिक मात्रै घरमा हुने गरेका छन्।

गाउँका धेरैजसो घरमा ज्येष्ठ नागरिक एक्लिँदै गएको उपाध्यक्ष भुजेलले बताइन्। ‘ज्येष्ठ नागरिकलाई सुरक्षा भत्ता दिएर मात्र हुँदैन, उनीहरूका चाहना र आवश्यकता पनि बुझ्नुपर्छ’, उनले भनिन्, ‘भत्ताले मात्रै सबैका सबैखाले आवश्यकता पूरा हुँदैनन्।’

इरौंटारमा आयोजित शिविरमा सात सय ४० जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ। शिविरमा मानव स्वास्थ्य, पशुस्वास्थ्य र कृषिसम्बन्धी सेवा दिइएको छ। शिविरमा १० लाख रुपैयाँको औषधि खपत भएको पालिकाले जनाएको छ।

प्रकाशित: ८ पुस २०८० ०४:१४ आइतबार

इलामको रोङ गाउँपालिका ज्येष्ठ नागरिकलाई रेडियो