समाज

भारतबाट ३ चेलीको उद्धार

चितवन – एक महिनाकै अवधिमा भारतबाट ३ चेलीको उद्धार गरिएको छ। बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक महिनामै ३ चेलीको उद्धार भएको हो। 

उद्धार गरिएका तीनैजनालाई चितवनको भरतपुरस्थित केआइ नेपालको पुनःस्थापन गृहमा राखिएको छ । पछिल्लोपटक मंगलबाट मात्रै १ जना चेलीको उद्धार गरी चितवनमा ल्याइएको छ । यो आर्थिक वर्ष लागेपछि साउनदेखि अहिलेसम्म ५ चेलीको उद्धार भएको केआइ नेपाल चितवनका संयोजक केमिका घिमिरेले जानकारी दिए। 

१ जनाको आफ्नै श्रीमानले नै भारत पु¥याएको अवस्थामा उद्धार गरिएको छ भने अर्की १ जनाको दलालमार्फत बेचिन लागेका बेला उद्धार भएको घिमिरेले बताइन। 

१ जना किशोरीलाई भारत हुँदै दुबई लगेको र दुबईमा मेडिकल परीक्षणमा दाग देखिएपछि फिर्ता गरेर भारतको होटलमा राखेको अवस्थामा सम्पर्कमा आउन सफल भएपछि उनको उद्धार गरिएको बताइएको छ। 

अहिले उद्धार गरिएका तीनै जनालाई भरतपुरमा मनोविमर्श सेवासँगै सीप सिकाउन थालिएको छ । अर्काे १ जनालाई आफन्तमार्फत भारत पुगेका बेला उद्धार गरिएको छ । मंगलबार मात्रै चितवन आइपुगेकी उहाँको विषयमा आवश्यक अनुसन्धान भइरहेको केआइ नेपालले जनाएको छ। 

उनीहरुलाई भारतमा रहेको दूतावास र भारतको महिला आयोगको सहयोगमा केआइ नेपालका प्रतिनिधिमार्फत उद्धार गरेर नेपाल ल्याइएको हो। 

विभिन्न समयमा उद्धार गरिएका २१ जना अहिले भरतपुरको पुनःस्थापना गृहमा राखिएको र १९ जनाले सीप सिकिरहेको लेखा सहायक पूर्णिमा श्रेष्ठ बताउछिन। २ जना भने पढ्दै छन् । गएको १ वर्षमा केआइ नेपालले हिंसा र बेचबिखन प्रभावितलाई उद्धार गरी ४७ जनालाई परिवारमा पुनर्मिलन समेत गराएको छ । जसमा ३५ जनाले सीप सिकेर व्यवसाय गर्न थालेका छन्।   (रासस)

प्रकाशित: १७ माघ २०७४ ०९:०९ बुधबार

भारतबाट चेलीको उद्धार