समाज

१५२ वर्षपछि आज खग्रास चन्द्रग्रहण, कुन राशिलार्इ कस्ताे असर ?

काठमाडौँ –  १५२ वर्षपछि आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आज बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।  “बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घण्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्छ, त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिन्छ”, उनले भने ।

धर्मशास्त्रीय मान्यतानुसार आजको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ। यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन । समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ । 

चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको छ । आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिनुपर्दैन । खुला आँखाले पनि हेर्न सकिन्छ । जुनसुकै राशि भएकाहरुले पनि चन्द्रग्रहण हेर्दा वैज्ञानिक आधारमा केही असर नपर्ने सोसाइटीका अध्यक्ष भट्टराईको मत छ। 

प्रकाशित: १७ माघ २०७४ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App