समाज

हात्तीले किच्दा एकको मृत्यु

इलाम- केही दिनयता गाउँमा आतंक मच्चाइरहेको जंगली हात्तीले एकजनाको ज्यान लिएको छ। जिल्लाको चुलाचुली गाउँपालिका–३, पेल्टीमारीका ५२ वर्षे सोमनाथ भण्डारी (गिरी)को आइतबार हात्ती आक्रमणमा परी मृत्यु भएको हो।

अपराह्न ३ बजेतिर बारीमा पानी लगाउनेक्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीले खुट्टाले किच्दा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

पुस २६ गतेयता हात्तीले चुलाचुली गाउँपालिकामा आतंक मच्चाइरहको छ । जंगली हात्तीको समूहले दुई सातायता १४ वटा घर भत्कइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल खतिवडाले बताए। हात्तीले बिघौंबिघा जग्गाको खेती नष्ट गरेको छ । ‘शुक्रबारसम्ममा १० घर भत्काएको हात्तीले आइतबारसम्ममा १४ घर भत्काइसकेको छ,’ उनले भने , ‘वडा ३ पेल्टिमारीमा बाक्लो बस्तीमै हात्ती पसेकाले क्षति झन् बढाउने त्रास भएको छ।’

प्रकाशित: ७ माघ २०७४ ११:५६ आइतबार

हात्तीले किच्दा एकको मृत्यु