समाज

पूर्व विद्यार्थीद्वारा बालबालिकालाई ट्रयाकसुट प्रदान

सर्लाही – सर्लाहीको हरिवनस्थित एक विद्यालयका पूर्व विद्यार्थीहरुको समूहले शुक्रबार आफूलाई अध्यापन गराउने गुरुलाई सम्मान एवं हाल अध्ययनरत बालबालिकालाई ट्रयाकसुट वितरण गरेको छ।

हरिवन नगरपालिका–८ स्थित महादेव जनता उमाविबाट २०५७ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुको समुहले हाल सोही स्कूलको बालविकास केन्द्रमा अध्ययनरत बालबालिकालाई ४७ जोर ट्रयाकसुट वितरण गरेको हो। त्यस्तै आफूलाई अध्यापन गर्ने हाल कार्यरत एवं निवृत्त भईसकेको शिक्षकलाई कदरपत्र सहित दोसल्ला ओढाएर उनीहरुले सम्मान गरेका छन्।

‘हामीलाई सुनौलो भविष्यका लागि शिक्षाको ज्योति दिने गुरुवर्गलाई सम्मान गर्ने अवसर पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेका छौं’, स्वागत मन्तव्यका क्रममा समुहकी संगिता घिसिङले भनिन्, ‘साथै हाल अध्ययनरत स–साना नानीहरुलाई जाडोको मौसममा न्यानो कपडा दिन पाउँदा खुसीले गदगद् भएका छौं।’

कार्यक्रमका प्रमुख अतिथि हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले एसएलसी दिएपछि आफू अध्ययनरत विद्यालयलाई चटक्कै विर्सने प्रचलन तोड्दै गुरुवर्गलाई सम्मान एवं बालबालिकालाई ट्रयाकसुट बाँडेर पूर्व विद्यार्थी समाजले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे।

विद्यालय परिसरमै आयोजित कार्यक्रममा पूर्व विद्यार्थीहरुको सम्मान तथा स–साना बालबालिकालाई न्यानो हुने ट्रयाकसुट वितरण जस्तो पुनित कार्यबाट प्रधानाध्यापक जयशंकर सिंह सहित शिक्षकहरु प्रशन्न देखिन्थे। आफूहरुले हरेक वर्ष विद्यालयका लागि रचनात्मक सहयोग गर्दै आईरहेको समूहका सदस्य विक्रम महतले दावी गरे।

प्रकाशित: ५ माघ २०७४ १५:१५ शुक्रबार

पूर्व विद्यार्थीद्वारा बालबालिकालाई ट्रयाकसुट प्रदान