बर्दिया – जिल्लामा हुलाकी सडक निर्माण कार्यले पछिल्लो समय तीव्रता पाए पनि ठेकेदार र आयोजना सम्बद्ध अधिकारीको मिलेमतोमा कमसल सामग्री प्रयोग गरी अनिमियतता गरेकोे पाइएको छ।
मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगरेको ठहर प्राविधिक टोलीले गरेपछि अनिमियतताको तथ्य खुलेको हो ।
२६ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको मधुवन नगरपालिका–८ देखि नेपाल–भारत सीमामा पर्ने मुर्तिहासम्म १८ किलोमिटर सडक मापदण्डविपरीत छ । यस्तै ढोढरी–भुरिगाउँ र ढोढरी–राजापुर गरी ७९ करोड रुपैयाँ लागतमा हुलाकी सडक निर्माण हुँदैछ।
ठेकेदारले मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगरेको प्राविधिक टोलीको ठहरपछि अनियमितता पुष्टि भएको हो ।
सडकको तीनै खण्ड निर्माणको जिम्मा पप्पु, आशिष र शर्मा जेभी कम्पनीले पाएको छ।
गुलरिया नगरपालिकाभित्र पर्ने हुलाकी सडकमा मापदण्डविपरीत काम भइरहेकोे मेयर मुक्तिनाथ यादवले बताए । ‘सडकमा प्रयोग गरिएका निर्माण सामग्री आँखैले देखेर जो कोहीले पनि मापदण्डविपरीत रहेको थाह पाउँछ’, उनले नागरिकसँग भने, ‘सडक पटानीदेखि थिकनेससम्म मापदण्डविपरीत छ।’
नगरपालिकाको प्राविधिकसहितको टोलीले पटकपटक अनुगमन गरेको बताउँदै यादवले निर्माणक्रममा भएको त्रुटि सच्याएर काम अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरे । ‘मैले आयोजना प्रमुखलाई त्रुटि सच्याइदिन आग्रह गरेको छु’, उनले भने, ‘काम छिटोछरितो गर्ने नाममा गुणस्तरमा आँखा चिम्लनु भएन।’
सडक पटानी गर्नेक्रममा ५ देखि २० किलोको ढुंगा प्रयोग गरेको पाइएको छ। सडक पटानी गर्दा ढुंगा (गिटी) को आकार ७० एमएम र माटो १५ देखि २० प्रतिशत प्रयोग गर्ने मापदण्ड तोकिएको छ । तर, सडकमा ५० प्रतिशत माटो र गिटीको ठाउँमा ढुंगा राखेको देखिन्छ।
अनुगमनक्रममा गिटीको सट्टा ठूल्ठूला ढुंगा र माटोको प्रतिशत पनि मापदण्डविपरीत प्रयोग गरिएको भेटिएको नगरपालिकाका प्राविधिक रमेश गौतमले बताए।
बर्दियामा हुलाकी सडकलाई तीन खण्डमा बाँडेर निर्माण भइरहेको छ । एक वर्षअघि तत्कालीन भौतिक पूर्वाधार यातायात मन्त्री रमेश लेखकले हुलाकी सडकका तीनवटै खण्ड निर्माण शिलान्यास गरेका थिए । काममा देखिएको तीव्रताले सडक बन्नेमा विश्वस्त भएका स्थानीय गुणस्तरहीन सामग्री प्रयोग गरिँदा भने निराश छन्।
चाल्ने मेसिन बिगँ्रदा सडक पटानीक्रममा राखिने माटो र ढुंगाको मात्रामा केही सन्तुलन नमिलेको साइड इन्जिनियर दीपनारायण साहले बताए । ‘मापदण्डविपरीत प्रयोग भएका निर्माण सामग्री हटाउन थालेका छौं’, उनले भने।
राजापुर–ढोढरी, गुलरिया–ढोढरी र ढोढरी–भुरिगाउँको कुल दूरी ५७ किलोमिटर छ । सुरुमा भारत सरकारको रुचिअनुसार नै बन्ने भनिएको हुलाकी सडकको काम वर्षोसम्म हुन नसकेपछि नेपाल सरकारले हुलाकी सडक आयोजनामार्फत टेण्डर आह्वान गरेर काम अघि बढाएको हो । सन् २००४ मा भारत सरकारले हुलाकी राजमार्ग निर्माण गर्न प्रारम्भिक अध्ययन सुरु गरेको थियो । त्यतिखेर दुवै देशका सरकारी अधिकारीबीच भएको सम्झौताअनुसार पहिलो र दोस्रो चरणमा गरी उत्तर–दक्षिण जोड्ने गरी विभिन्न खण्ड–खण्डमा सडक बनाउने भनिएको थियो । जसअनुसार बर्दियामा तीन खण्ड परेको थियो । हुलाकी राजमार्ग आयोजनाका अनुसार २७ जुन २००६ मा भारत सरकारले उक्त सडक निर्माणका लागि विस्तृत अध्ययन सकेको थियो । विस्तृत अध्ययन सकेलगत्तै पुनः दुई देशबीच भएको सम्झौतामा राजमार्गको डिजाइन, सुपरीवेक्षण र निर्माणमा लाग्ने सबै खर्च भारतले बेहोर्ने तथा जग्गा अधिग्रहण, सडकमा परेका रुख हटाउने र सम्पूर्ण पुलको निर्माणसम्बन्धी काम नेपाल सरकारले गर्ने उल्लेख थियो । तर, लामो समयसम्म पर्खंदा पनि राजमार्ग निर्माण सुरु भएन । भारतीय पक्षले छनोट गरेका ठेकेदार भागेपछि काममा बाधा पुग्यो।
बर्दियाम तीनवटै सडक खण्ड निर्माणले तीव्रता पाएको हुलाकी सडक आयोजना प्रमुख शौरभ बज्राचार्यले जानकारी दिए । ‘समयसीमाभिै काम सम्पन्न गर्ने लक्ष्य राखेर काम अघि बढेको छ’, उनले भने । उनले तोकिएको मापदण्डअनुसार काम नभएको भन्दै ठेकेदार कम्पनीलाई पत्राचार गरेको बताए।
काम थालेको ३० महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
मूल ठेकेदारले पेटी ठेकेदारको भरमा सडक निर्माण गराइरहेको अवस्था छ। आयोजनाबाट तीन खण्ड निर्माण गर्ने जिम्मा शर्मा, पप्पु र आशिष जेभी कम्पनीले पाएको हो। जोइन्ट भेन्चरको कम्पनीले सडक ठेक्का पाएपछि निर्माणका लागि भने खण्ड–खण्ड छुट्याएर पेटी ठेकेदारलाई जिम्मा दिइएको छ । पप्पु र आशिषले आफ्नो भागको कामको जिम्मा पेटी ठेकेदार गणपति र अनेस्ट कन्स्ट्रक्सनलाई दिएका छन्। पेटी ठेकेदारलाई कामको जिम्मा लगाइएकाले मापदण्डअनुसार हुन नसकेको आयोजनाका एक प्राविधिकले बताए। ‘धेरै कुरामा मुख्य जिम्मा पाएकालाई थाहा हुँदैन’, ती प्राविधिकले भने, ‘समन्वय अभावले समस्या देखिएको छ ।’ पप्पुको काम जिम्मा लिएको गणपतिका साइड इन्जिनियर दीपनारायण साहले भने, ‘काम गर्दा कमीकमजारी हुँदैनहुने कुरा त भएन । प्राविधिक कारणले पटानको क्रममा भएका कमजोरीलाई हामी सच्याइरहेका छौं।’
जिल्ला सदरमुकाम गुलरिया र मधुवन नगरपालिकाका स्थानीयले निर्माणाधीन सडकको गुणस्तरमा ध्यान दिन खबरदारी गरेका छन । सडक निर्माणक्रममा गुणस्तरमा ध्यान नदिएको भन्दै खबरदारी गरिएको मेयर यादवले बताए । हुलाकी सडक निर्माणले जिल्लाको आर्थिक विकासमा सहयोग पुग्ने स्थानीयको भनाइ छ।
प्रकाशित: ३० पुस २०७४ ०२:०० आइतबार