समाज

कोप-२८:गोलमेचमा ‘पर्वत पर्यावरण’को चिन्ता

नेपालले शनिबार ‘पर्वतको सन्देश: जलवायु संकटबाट हामीलाई कसले सुरक्षा गर्छ ?’ शीर्षकमा उच्चस्तरीय गोलमेच बैठक गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सहजीकरण गरेको सो कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनिओ गुटेरेस, अन्डोराका प्रधानमन्त्री जाभियर इस्पोट जमोरा, किर्गिस्तानका परराष्ट्रमन्त्री कुलावेभ झेनवेक मोल्डोकानोभिक लगायतको सहभागिता थियो। कार्यक्रममा सहजीकरण गरेका प्रधानमन्त्री दाहालले पर्वतीय राष्ट्रले मिलेर आफ्ना आवाजलाई सशक्त पार्नुपर्ने बताए। उनले पर्वतीय अजेन्डालाई कोपको आधिकारिक प्रक्रियामा समावेश गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले तीव्र गतिमा हिमालयका हिउँ पग्लनु अत्यन्त चिन्ताको विषय रहेको बताए।

जलवायु कार्यवित्तको सुनिश्चितताबिना समस्या समाधान सम्भव नहुने चर्चा गर्र्दै उनले अनुकूलन कोषलाई दुगुणा बढाउने, धनी राष्ट्रले विकासोन्मुखलाई प्रतिवर्ष १०० अर्ब अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता पूरा गर्नुपर्ने बताए। जलवायु वित्तमा पहुँच बढाउन अन्तर्राष्ट्रिय वित्तीय निकायमा सुधार हुनुपर्ने आवश्यकता पनि उनले औंल्याए।

अन्डोराका प्रधानमन्त्री जाभियर इस्पोट जमोराले तापमान वृद्धिले पर्वतीय पारिस्थितिक प्रणाली जोखिममा रहेको र एन्डोराजस्ता साना राष्ट्र पनि नराम्ररी प्रभावित भएको बताए। किर्गिस्तानका परराष्ट्रमन्त्री मोल्डोकानोभिकले पर्वतीय राष्ट्रलाई वित्तीय सुविधा उपलब्ध गराउनुपर्ने बताएका थिए। सम्मेलनमा युएनडिपी, विश्व कृषि संगठन, इसिमोड, इन्टननेसनल क्रायोस्फेयर क्लाइमेट इनिसिएटिभका प्रतिनिधिलगायतले सम्बोधन गरेका थिए।

प्रकाशित: १७ मंसिर २०८० ०१:१६ आइतबार

नेपाल पर्वत प्रधानमन्त्री पुष्पकमल दाहाल अन्डोराका प्रधानमन्त्री जाभियर इस्पोट संयुक्त राष्ट्रसंघ एन्टेनिओ गुटेरेस जलवायु