समाज

गैँडाको मारेको आरोपमा ८ जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको मारेको आरोपमा ८ जना पक्राऊ परेका छन्। उनीहरूलाई आज चितवन राष्ट्रिय निकुञ्जले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा ७७ वर्ष उमेर सम्मका छ्न्।

 पक्राउ पर्नेमा मकवानपुरका ३३ वर्षीय रमेश खाती, चितवनका स्थित राप्ती नगरपालिका ११ का ४२ वर्षीय आइते सिंह मोक्तान,मकवानपुर स्थित राक्सीराँङ ९ का ४४ वर्षीय सम्शेर थीङ,राक्सीराँङ ६का ५६ वर्षीय थीङ बाजे भन्ने सीताराम थीङ, रोल्पा सुनछहारी गाउँपालिका ६ का २८ वर्षिय अर्जुन रोक, गोरखाको बारपाक गाउँपालिका घर भई भरतपुर बस्ने ७७ वर्षीय धन बहादुर गुरुङ, राप्तीका ४० वर्षिय उन बहादुर स्यन्ताङ र मनहरीका स्याङ्बो भन्ने इन्द्र बहादुर तामाङ रहेका छन्। पक्राउ परेका  रमेश खाती मुख्य योजनाकार रहेको निकुञ्ज विभागका प्रमुख सिन्धु ढुंगानाले जानकारी दिए।

निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र ६ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो।

गैँडा मृत भेटिएको १० दिन नबित्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–३ बाट छ र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जना पक्राउ गरिएको हो।

प्रकाशित: १४ मंसिर २०८० ०९:५७ बिहीबार

चितवन राष्ट्रिय निकुञ्ज गैँडा